सुपरदोर्दी ‘ख’ सुरुङको काम ४८ प्रतिशत सम्पन्न

1255

२०७५ माघ १
लमजुङ – पूर्वी लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीको ताँजेमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको सुरुङ खन्ने कार्य ४८ प्रतिशत सम्पन्न भएको छ । पिपुल्स हाइड्रोपावरका आयोजना प्रमुख अर्जुन गौतमका अनुसार आयोजनाको नौ हजार एक सय मिटरमध्ये ४५ सय मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।

आठ अर्ब ८१ करोडको लगानीमा ५४ मेगावाट क्षमताको सुपर दोर्दी ख जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण, सडक र विद्युतीकरणको काम गरिसकेको छ । पिपुल्स हाइड्रोपावरका आयोजना प्रमुख गौतमले सरकारले ट्रान्समिसन लाइन बनाउन पहल गरेकाले उत्पादित विद्युत् खेर नजानेमा आफूहरू विश्वस्त रहेको बताए ।

दोर्दी करिडोरमा निर्माणाधीन आयोजनाहरू एकदेखि दुई वर्षभित्र निर्माण सम्पन्न हुने भएकाले ट्रान्समिसन लाइन समयमा निर्माण भए उत्पादित बिजुली प्रसारण लाइनमा जोडिन कुनै समस्या नहुने उनको भनाइ छ । थोरै लगानीमा धेरै नाफा आर्जन हुने आसमा ऋण लिएर र सम्पत्ति बेचेर जलविद्युत्मा लगानी गर्नेहरू प्रसारण लाइन बन्ने भएसँगै बिजुली खेर नजानेमा ढुक्क छन् ।

 सडक र ट्रान्समिसन लाइनको समस्या
पूर्वी लमजुङको ढोडेनीको विकट क्षेत्र ताँजेमा पिपुल हाइड्रोपावरको प्रवद्र्धनमा बन्न लागेको ५४ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजना ‘ख’ मा पुग्न ठूलै जोखिम मोल्नुपर्छ । भिरको बाटोमा स–साना घुम्तीलाई पार गर्न ठूला मालवाहक साधनलाई हम्मेहम्मे नै पर्छ । दोर्दी खोलामा एक वर्षमा सक्ने गरी निर्माण थालिएको पुल आठ वर्ष बितिसक्दा पनि अझै निर्माण हुन सकेको छैन । पुल नबन्दा र सडक राम्रो नहुँदा यहाँ निर्माणको चरणमा रहेका थुप्रै आयोजनाले सास्ती खेप्दै आएको पिपुल्स हाइड्रोपावरका आयोजना प्रमुख गौतम बताउँछन् ।

 आयोजनामा आठ बैंकको लगानी
०७२ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको सो आयोजनामा सानिमा बैंकको अगुवाइमा आठ बैंकले लगानी गरेका  छन् । पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रसहेड ६ सय ४० मिटर छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ । सुपरदोर्दी इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष इजन बरालले २०७७ असार मसान्तसम्म नेसनल ग्रिडमा विद्युत् जडान गर्ने लक्ष्यका साथ कामलाई तीव्र रूप दिएको बताए । उनले आयोजनाको निर्माण थाल्दा ४९.६ मेगावाट भनिए पनि हाल त्यो बढेर ५४ मेगावाट पुगेको बताएका छन् । दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेको यो आयोजना मध्यमस्र्याङ्दी पछिको दोस्रो ठूलो हो ।

 

शान्ता कमली
स्रोत:नयाँपत्रीका