दोलखाबाट १ वर्षमा ५५६ मेगावाट थपिने

1097

दोलखा-दोलखामा निर्माणाधीन ७ जलविद्युत् आयोजनाबाट एक वर्षमा ५५६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिने भएको छ । यी सबै आयोजनाको काम ७० देखि ९७ प्रतिशतसम्म पूरा भएको छ । यी सबै आयोजना कुनै अवरोध नभए एक वर्षभित्र पूरा भई विद्युत् उत्पादन हुनेछ ।
सबै आयोजना निजी क्षेत्रबाट निर्माणाधीन आयोजना हुन् । बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित यी आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । ४५६ मेगावाटको यो आयोजना ढिलोमा २०७६ कात्तिकभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

अपर तामाकोसी नेपाल विद्युत् प्राधिकरणसहित निजी क्षेत्रको समेत लगानीमा निर्माणाधीन हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । त्यसैगरी निजी क्षेत्रको लगानीमा अन्य ६ वटा आयोजनाको एक सय मेगावाट पनि एक वर्षभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । यो आयोजना विगू गाउँपालिका–१ मा निर्माणाधीन छ । आयोजनाको गोंगरदेखि खिम्तीसम्मको २२० केभीए प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।
सबैभन्दा बढी भौतिक प्रगति हुने आयोजनामा गौरीशंकर गाउँपालिका–७ मा निर्मित १ जलविद्युत् आयोजना हो । ग्रिन लाइन इनर्जी कम्पनीले निर्माण गरिरहेको ४० मेगावाटको यो आयोजनाको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सिंगटी–लामोसाँघु १३२ केभीएको प्रसारणलाइन समयमा नबन्दा ३ वर्षअघि नै पूरा हुनुपर्ने यो आयोजना ढिलाइ भइरहेको छ । समय लम्बिँदा आयोजनाको लागतसमेत बढेको छ भने विद्युत् उत्पादनबाट हुने अर्बौं आम्दानी प्रवद्र्धकले गुमाउनु परेको छ । सोही वडामा निर्माणाधीन ५ मेगावाटको घट्टे खोला जलविद्युत् आयोजनाको प्रगति पनि ८० प्रतिशत बढी छ । यसको उत्पादन ६ महिनाभित्र गर्ने लक्ष्य छ ।
गौरीशंकर गाउँपालिका–५ र ६ मा निर्माणाधीन ११ मेगावाटको तल्लो खारे खोलाको भौतिक प्रगति पनि ७० प्रतिशत बढी छ । युनिभर्सल पावर कम्पनीले निर्माण गरिरहेको यो आयोजना यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।
सिंगटी खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजनाको पनि काम ८० प्रतिशत बढी प्रगति भएको छ । यो आयोजनाको पनि आउँदो साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य छ । सिंगटी खोला विगू गाउँपालिका र कालिञ्चोक गाउँपालिका सिंगटी नजिकै छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरे र दोलखाको जिरी नगरपालिका–१ श्यामामा निर्माणाधीन माथिल्लो खिम्ती खोला १ र २ को १९ मेगावाटको जलविद्युत् अयोजनाको प्रगति पनि ८० प्रतिशत बढी छ । आयोजनाले यही यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।
हिमालयन ऊर्जा विकास कम्पनीले निर्माण गरिरहेको यी दुवै आयोजना गर्जाङ सबस्टेसनमा जोड्ने लक्ष्य छ । तर गर्जाङ–खिम्ती १३२ केभीको प्रसारण लाइन र सबस्टेसनको काम समयमा पूरा नहुँदा यी आयोजनाको उत्पादन केही समय धकेलिन सक्ने स्थिति रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । खानीखोला, घट्टेखोला, तल्लो खारेखोला र सिंगटी खोलाबाट उत्पादन हुने विद्युत् भने सिंगटी सबस्टेसनमा जोडिन्छ । तर सिंगटी लामोसाँघु प्रसारण लाइनको काम नै समयमा पूरा नहुने हो कि भन्ने आशंका छ ।

स्रोत : कारोबार