माथिल्लो भोटीकोसी आयोजना बन्न अझै तीन वर्ष लाग्ने

    2208

    काठमाडौं । भूकम्प र बाढीबाट क्षतिग्रस्त ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाको पुननिर्माण सम्पन्न गर्न तीन वर्ष लाग्ने भएको छ ।

    वैशाख १२ गते विनासकारी भूकम्पबाट क्षतिग्रस्त आयोजनाको ८० प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएका बेला गत असारमा फेरि बाढीको चपेटामा परेर बाँध पुरिएको र जडान भएका नयाँ उपकरण पनि क्षतिग्रस्त भएपछि आयोजना ०७६ को अन्त्य अर्थात सन् २०१९ को डिसेम्बरमा मात्र सकिने भएको छ ।

    हाल आयोजनामा भएको क्षतिको मूल्यांकन र डिजाइन तयारीको काम भइरहेको भोटेकोसी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र प्रजापतिले बताए । आउदो जेठ–असारसम्म आयोजनाको मूल्यांकन सकेर ठेक्का लगाउने तयारी भएको उनले जानकारी

    दिए । बाँध र विद्युतगृह दुवै संरचनामा ठूलो क्षति भएकाले हाल यसको मूल्यांकन र डिजाइन तयारीको काम भइरहेको उनले सुनाए । आयोजना

    पुनःनिर्माणको लागत तय भइनसकेको उनले जानकारी दिए । आयोजना पुनःनिर्माण गर्न ५ अर्ब बढी लाग्ने

    अनुमान गरिएको छ । आयोजना २१ महिनादेखि बन्द छ । राष्ट्रिय प्रणालीमा ४५ मेगावाट विजुली उत्पादन कम भएको छ ।

    भूकम्पले क्षतिग्रस्त पेनस्टक पाइप, इलेक्ट्रोमेकानिक लगायत अन्य उपकरण जडानको काम ८० प्रतिशत सम्पन्न भइसकेपछि तिब्बतमा ताल फुटेर भोटेकोसीमा ठूला बाढी आएर बाँध पुरिएको छ । यस्तै बाँधस्थलमा रहेको बालुवा छान्ने पोखरी ( डिसेन्डिङ बेसिन ) बगाएको छ । यस्तै जडान भएका नयाँ इलेक्ट्रोमेकानिकल लगायत अन्य उपकरण बाढीले डुबाएपछि फेरी नयाँ खरिद गर्नुपर्ने भएको छ । जेनेरेटर र पेनस्टक पाइप मात्र काम लाग्ने अवस्थामा रहेको प्रजापतिले बताए ।  भूकम्पपछि पेनस्टक पाइप र इलेक्ट्रोमेकानिकल र अन्य नयाँ उपकरण जडानका लागि कम्पनीले झण्डै ३ अर्ब रुपैयाँ (साढे २ करोड अमेरिकी डलर) लगानी गरेको थियो । विद्युतगृह बनाउन फेरी थप लगानी गर्नुपर्ने भएको छ । बाढीले क्षति नगराएको भए गत भदौदेखि आयोजना सञ्चालनमा ल्याउने तयारी भोटेकोसीको थियो । बाढीले थप क्षति पु¥याएकाले नयाँ शिराबाट आयोजनाको निर्माण गर्नुपर्ने भएको छ ।  भूकम्प र बाढीले आयोजना झण्डै २ वर्ष बन्द हुदा ४ अर्ब रुपैयाँ बढी आम्दानी गुमाएको छ ।

    २०५८ सालदेखि व्यापारिक रुपमा विद्युत् उत्पादन थालेको आयोजनाले सन् २०११ मा विभिन्न अन्तराष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा चुक्त गरिसकेको थियो । आयोजनाले प्रभावित स्थानियबासिन्दालाई ६ प्रतिशत सेयर दिने सम्झौता समेत गरेको छ ।  आयोजनाबाट वार्षिक २९ करोड ३२ लाख युनिट बिजुली उत्पादन हुन्छ । यसमध्ये ४ करोड युनिट बिजुली विद्युत् प्राधिकरणलाई १ रुपैयाँ ६२ पैसामा बेच्दै आएको छ । बाँकी विजुली व्यापारिक दरमा विक्री गर्दै आएको छ । ३६ मेगावाट डलरमा पीपीए भएको छ । यस्तै १० मेगावाट प्रतियुनिट १ रुपैयाँ ६२ पैसामा पीपीए भएको छ ।

    आयोजना अमेरिकी कम्पनी पाण्डा इनर्जीले बनाएको हो । आयोजनाको लाइसेन्स अवधी ४० वर्षको छ । आफैँ निर्माण सञ्चालन र हस्तातरण (बुट) नीति अन्र्तगत आयोजना निर्माण भएको हो ।

    सन् २००७ मा नेपालको तारा म्यानेजमेन्टले भोटेकोसीको स्वामित्व किनेको हो । ५ प्रतिशत अमेरिकी कम्पनी हार्जाको सेयर छ

    साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा गएको भिषण पहिरोले आयोजनाको ४ वटा विद्युतीय टावर क्षतिग्रस्त बनाएको थियो । १ डलर बराबर ५२ रुपैयाँ हुदा विद्युत् प्राधिकरण र भोटेकोसीबीच पीपीए भएको हो ।

    स्रोत:बाह्रखरी