भारतबाट सस्तो बिजुली बढी आयात

    1583

    सचेन गौतम/नयाँ पत्रिका काठमाडौं, १७ पुस

    हिउँदमा लोडसेडिङ कम गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट सस्तो बिजुली बढी आयात गरिरहेको छ । भारतबाट सस्तो बिजुली आयात प्रोत्साहन र महँगोलाई निरुत्साहित गर्ने रणनीति रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘दैनिक माग धान्न र प्रणालीले थेगेसम्म भारतबाट सस्तो बिजुली बढी र महँगो कम ल्याइरहेका छौँ,’ उनले भने, ‘यसले भारतबाट आयात हुने बिजुलीको मूल्य औसतमा सस्तो बनाउनेछ ।’

    हिउँदमा खोलामा पानी घट्दा नदी बहावमा आधारित (रन अफ रिभर) विद्युत् आयोजनाको उत्पादन ह्वात्तै घट्छ । तर, जाडोमा बिजुलीको माग भने बढ्ने हुँदा त्यसलाई धान्न भारतबाट वार्षिक रूपमा कुल मागको औसत ३० प्रतिशतभन्दा बढी बिजुली आयात भइरहेको छ । बिजुली अत्यधिक माग हुने समय (पिक आवर) बेलुका करिब ४ घन्टा भारतबाट दैनिक झन्डै ३ सय ८० मेगावाट बिजुली आयात हुन्छ ।

    प्राधिकरणले भारतबाट व्यापारिक रूपमा, विद्युत् आदान–प्रदान सम्झौता (पावर एक्सचेन्ज एग्रिमेन्ट) र महाकाली सन्धिअनुरूप बिजुली ल्याइरहेको छ । व्यापारिक रूपमा गरिने आयातभन्दा पावर एक्सचेन्ज सम्झौताअनुरूप ल्याइने बिजुली महँगो रहेको प्राधिकरणले जनाएको छ । पावर एक्सचेन्ज सम्झौताअन्तर्गतको बिजुलीको मूल्यमा वार्षिक साढे ५ प्रतिशतले वृद्धि हुने व्यवस्था छ ।

    भारतबाट आयात अल्पकालीन

    भारतबाट बिजुली आयात गरी लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना अल्पकालीन मात्रै रहेको कार्यकारी निर्देशक घिसिङले बताएका छन् । ‘स्वदेशी प्रवद्र्धकसँग हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरिद गर्नुभन्दा भारतबाट ल्याउँदा सस्तो पर्छ, तर मुलुकका लागि आयात दीर्घकालीन विकल्प हुँदै होइन,’ उनले भने, ‘हामीसँग रहेको जलविद्युत् उत्पादनको सम्भाव्यतालाई अधिकतम दोहनमार्फत दीर्घकालीन रूपमा स्वदेशी उत्पादनबाटै लोडसेडिङ हटाउनुपर्छ ।’

    प्रतियुनिट मूल्य ९.३३ रुपैयाँसम्म

    भारतबाट आयात भइरहेको बिजुलीका लागि प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँ ७६ पैसादेखि ९ रुपैया“ ७३ पैसा तिरिरहेको छ । भारतको मुजफ्फरपुर तथा टनकपुरबाट सबैभन्दा सस्तो र नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनीमार्फत महँगो विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ ।

    ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत शनिबारसम्म ८० मेगावाट आयात भइरहेको छ । आइतबारबाट १८ माघसम्म अहिलेको ८० मेगावाट र थप ४० मेगावाटसहित १ सय २० मेगावाट बिजुली आउनेछ । १८ माघदेखि १७ जेठसम्ममा १ सय ६० मेगावाटसम्म बिजुली आयातका लागि प्राधिकरणले भारतको एनटिपिसी विद्युत् व्यापार निगमसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिसकेको छ । एनटिपिसी विद्युत् व्यापार निगमले मुजफ्फरपुर बिन्दुमा प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु)मा बिजुली दिनेछ । मुजफ्फरपुरबाट ल्याउँदाको प्रसारण लाइन शुल्क (ह्विलिङ चार्ज) १ रुपैयाँ ५३ पैसा तिर्दा प्राविधिक चुहावटबाहेक ढल्केबर बिन्दुमा आइपुग्दा प्रतियुनिट ७ रुपैयाँ २९ पैसा पुग्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले भारतबाट पावर ट्रेट कम्पनी (पिटिसी)सँग टनकपुरबाट पनि ३० मेगावाटसम्म पनि प्रतियुनिट ५ रुपैयाँ ७६ पैसामा आयात गर्छ । टनकपुरबाट थप १५ मेगावाट ल्याउने तयारी भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    प्राधिकरणले टनकपुरबाट हरेक वर्ष नोभेम्बरदेखि जुनसम्म ३० मेगावाटसम्म विद्युत् आयात गर्दै आएको छ । नेपाल र भारतबीच भएको महाकाली सन्धिअन्तर्गतको ७ करोड युनिट निःशुल्क विद्युत् पनि टनकपुरबाटै आउँछ । भारतले निःशुल्क दिए पनि प्राधिकरणले नेपाल सरकारलाई प्रतियुनिट ४ रुपैयाँ ७५ पैसा तिर्नुपर्छ ।

    औसत बिक्री मूल्यभन्दा सस्तो

    आयात हुने अधिकांश बिजुलीको मूल्य प्राधिकरणको औसत उपभोक्ता महसुलभन्दा सस्तो छ । प्राधिकरणले ग्राहकलाई बेच्ने बिजुलीको औसत महसुल ८ रुपैयाँ ६० पैसा छ । प्राधिकरणको आर्थिक वर्ष ०७२-७३ को वित्तीय विवरणअनुसार मुलुकभित्रका निजी क्षेत्र र भारतबाट आयात गरिएको बिजुलीको खरिद मूल्य ८ रुपैयाँ २७ पैसा छ । प्राधिकरणको प्रणालीमा २६ प्रतिशत बिजुली चुहावट हुन्छ । अर्थात् करिब दुई सय ४० मेगावाट चुहावट हुने प्राधिकरणको तथ्यांक छ ।