नेपाल विद्युत प्राधिकरण र इनर्जी भेन्चरबीच पीपीए सम्झौता : प्रेस विज्ञप्ति

    3662

    इनर्जी भेन्चर प्राइभेट लिमीटेड नेपालको जलविद्युत आयोजना निर्माणका लागि स्थापित कम्पनी हो । यस कम्पनीले दोलखा जिल्लाको लामा बगर गाविसमा अपर लाप्चे खोला जलविद्युत आयोजनाको सर्भेक्षण लाइसेन्स लिएर निर्माण कार्य अघि बढाएको छ ।

    सर्भेक्षण लाइसेन्स लिएर हाल आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गरिरहेको ५२ मेगावाट क्षमताको सो अपर लाप्चे खोला जलविद्युत आयोजनाको प्रवद्र्धक इनर्जी भेन्चर प्रालि र नेपाल विद्युत प्राधिकरणबीच २०७३ साल साउन २० गते विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र इनर्जी भेन्चर प्रालिका निर्देशक महेश खरेलबीच पीपीएमा हस्ताक्षर भएको छ । हिउँदमा प्रति युनिट ८.४० र बर्षामा ४.८० पैसामा खरिद गर्ने गरी पीपीए भएको हो ।

    स्वदेशी पुँजीको उपयोग गरेर जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यसहित स्थापित सो कम्पनीले प्रवद्र्धन गर्न लागेको आयोजनाको कुल लागत अनुमान ८ अर्ब ५० करोड रुपैयाँ गरिएको छ । एक बर्षभित्र वित्तिय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको आयोजना पाँच बर्षभित्र पुरा हुनेछ ।

    बार्षिक २८५.१२१ गिगावाट हावर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाबाट बार्षिक १ अर्ब ५२ करोड आम्दानी हुनेछ । ४४५ मिटर हेड रहेको आयोजनामा ६ किलोमिटर सुरुङ निर्माण हुनेछ । आयोजनाबाट उत्पादित विजुली सिंगटी सवस्टेशनमा जोडिनेछ । यसबारे विद्युत प्राधिकरणको ग्रीड विभाग र भेन्चर प्रालिबीच कनेक्सन एग्रिमेन्ट भैसकेको छ ।

    महेश खरेल
    निर्देशक
    इनर्जी भेन्चर कम्पनी