माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट बिजुली खेर जाने

    1275

    समयमै प्रसारणलाइन नबनाउँदा आगामी भदौदेखि व्यावसायिक उत्पादन गर्न लागेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनाको बिजुली खेर जाने भएको छ ।

    सिनो सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको निर्माण सम्पन्न हुनै लागे पनि प्रसारणलाइनको अन्योलले विद्युत् खेर जाने भएको हो ।

    नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किट तथा मर्स्याङ्दीबाट डुम्रे हुँदै दमौली जाने १३२ केभीको प्रसारणलाइन सम्पन्न हुन कठिन देखिएपछि बिजुली खेर जाने देखिएको छ ।

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भने हाल उत्पादन हुने २५ मेगावाट बिजुली प्रसारणका लागि कुनै समस्या नहुने तर, चालू वर्षभित्र प्रसारणलाइन नबनेमा ५० मेगावाट बिजुली खेर जाने बताउँछन् ।

    “२५ मेगावाट खेर जान नदिने गरी प्रसारण प्रणालीमा व्यवस्थापन गर्छौं, अर्को युनिट ४ महिनापछि मात्र आउने भएकाले हिउँदमा खेर जाँदैन,” उनले भने, “आगामी वर्षामा ठेकेदारले ढिलाइ गरेमा ठेक्का तोडेर नयाँ ठेकेदार नियुक्ति गरेर भए पनि बनाइ छाड्छौं ।”

    आयोजनाका अनुसार, डुम्रेबाट दमौलीसम्मको निर्माणाधीन नयाँ प्रसारण लाइन असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि ठेकेदारको गतिले समयमै सम्पन्न हुने अवस्था छैन ।

    हाल ६३ मध्ये ३१ वटा मात्रै टावर बनेको छ । यो प्रसारणलाइन बनेमा भने यहाँको बिजुली लेखनाथतिरको प्रसारणलाइनमा डाइभर्ट गर्न सकिने गरी अघि बढाए पनि त्यो पनि समयमै बन्न सक्ने अवस्था देखिएको छैन ।

    ६९ मेगावाटको मर्स्याङ्दीको दुई युनिट एकातिर र अर्को एक युनिट मात्र अर्कोतिर लाने मिल्ने भएकाले पनि विद्युत् प्रसारणमा थप समस्या छ । एक युनिटबाट यो आयोजनामा २३ मेगावाट बिजुली उत्पादन हुन्छ ।

    मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किटको काम सम्पन्न भए मात्र यस लाइनमार्फत २ सय ८० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिन्छ । यो प्रसारणलाइन अझै २० किलोमिटर बढी बनाउन बाँकी छ ।

    नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किट तथा मर्स्याङ्दीबाट डुम्रे हुँदै दमौली जाने १३२ केभीको प्रसारणलाइन सम्पन्न हुन कठिन देखिएपछि बिजुली खेर जाने देखिएको छ ।

    सिंगल सर्किटबाट १४० मेगावाट मात्र प्रसारण गर्न सकिने तथा हाल ७० मेगावाटको मध्यमर्स्याङ्दी र ६९ मेगावाटको तल्लो मर्स्याङ्दीबाट १३९ मेगावाट प्रसारण भइरहेकाले थप बिजुली प्रवाहको सम्भावना कम रहेको विद्युत् प्राधिरकणका एक इन्जिनियरले जानकारी दिए ।

    “हाल बनिरहेको प्रसारणलाइनको विकल्पका रूपमा मध्यमर्स्याङ्दीबाट दमौलीबाट सिधै तल्लो मर्स्याङ्दीसम्म डब्बल सर्किट बनाएर बिजुली खेर जान नदिने विकल्पका साथै प्राधिकरण अघि बढेको छ तर आयोजनाले उत्पादन गर्ने बेलासम्म यो सम्पन्न गर्न कठिन छ,” उनले भने ।

    उनका अनुसार, विकल्पका रूपमा अघि सारिएको डुम्रे हुँदै दमौली पुग्ने नयाँ प्रसारणलाइन पनि तत्काल बन्न नसक्ने अवस्था देखिएकाले कि मध्यमस्र्याङ्दी र तल्लो मस्र्याङ्दी, कि माथिल्लो मर्स्याङ्दी–ए को बिजुली खेर जाने अवस्था आएको छ ।

    माथिल्लो मर्स्याङ्दी–ए ले सरकारले छिटो प्रसारणलाइन बनाउन नसक्ने अवस्था देखिएपछि आयोजनादेखि मध्यमर्स्याङ्दीसम्म सिनो हाइड्रो आफैंले प्रसारणलाइन बनाएको थियो ।

    ३१ करोड ४० लाख युनिट वार्षिक उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाबाट उत्पादित २५ मेगावाट मात्र बिजुली खेर गएमा महिनाको एक करोडभन्दा बढी बिजुली खेर जानेछ ।

    विद्युत् प्राधिकरणले सिनो हाइड्रोसँग उत्पादित बिजुली प्रसारण गर्न नसकेमा ८० प्रतिशत जरिवाना दिने सम्झौता गरिसकेको छ ।

    नेपाली अधिकांश जलविद्युत् आयोजनामा ५ प्रतिशत जरिवाना लिने र दिने सम्झौता गरेको प्राधिकरणले योजना आयोजनामा यति धेरै जरिवाना दिने सम्झौता गरेको हो ।

    २०६५ मा ७० मेगावाटको मध्यमर्स्याङ्दी आयोजना बनेपछिको सम्पन्न हुन लागेको माथिल्लो मर्स्याङ्दी–ए सबैभन्दा ठूलो आयोजना हो ।

    यो बिजुली काठमाडौं आएर लोडसेडिड घट्ने आशा गरिए पनि २२० केभीको हेटौंडा भरतपुर प्रसारणलाइन नबनेसम्म यो असम्भव रहेको विद्युत् प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

    मंसिरपछि हिउँदमा विद्युत् उत्पादनको क्षमता कम हुँदै जाने हुनाले आगामी हिउँदमा बिजुली खेर नजाने भए पनि अहिलदेखि द्रुतगतिमा अघि नबढे बिजुली खेर गएर करोडौं गुमाउनुपर्ने अवस्था रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

    स्रोत : कारोबार