थापाखोला आयोजना राष्ट्रिय प्रसारण लाइनमा

    1095

    कास्की । मुस्ताङमा माउण्ट कैलाश हाइड्रोपावर कम्पनीको ‘थापाखोला जलविद्युत् आयोजना’ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । मुस्ताङको कोबाङ र टुकुचे खोलामा निर्माण भएको करीब १४ मेगावाटको जलविद्युत् आयोजना प्रसारण लाइनमार्फत राष्ट्रिय लाइनमा जोडिएको हो ।

    आयोजनालाई १ सय ३३ केभीए प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिए । उनका अनुसार प्रसारण लाइनमार्फत मोदीको सबस्टेशनमा लाइन जोडिएको हो । ‘कम्पनीले यसै हप्ता व्यावसायिक उत्पादन थाल्ने योजनामा छ,’ उनले भने, ‘कम्पनीले मुस्ताङको कोबाङदेखि नारच्याङसम्म आफै प्रसारण लाइन निर्माण गरेको हो ।’

    म्याग्दीको घराप हुँदै पर्वतको मोदी सबस्टेशनमा जोडिएको उक्त आयोजनाले कोबाङदेखि नारच्याङसम्मको लामो दूरीमा आफ्नै लगानीमा प्रसारण लाइन निर्माण गरेको हो । कम्पनीले तत्काललाई विकल्पको रूपमा १ सय ३३ केभीए प्रसारण लाइनमा जडान गरे पनि पछि २ सय २० केभीए प्रसारण लाइनमा स्थानान्तरण गर्ने जानकारी दिएको छ ।

    कालीगण्डकी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजना र थापाखोलालगायतका आयोजनालाई ध्यानमा राख्दै सरकारले म्याग्दीको दानामा २ सय २० केभीए सबस्टेशनको निर्माणलाई तीव्रता दिएको छ । त्यसैगरी म्याग्दीको दानाबाट पर्वतको खुर्कोट हुँदै बुटवलको बर्दघाटसम्म राष्ट्रिय महŒवको आयोजनाअन्तर्गत प्रसारण लाइन विस्तार गरिरहेको छ ।

    सरकारी स्तरबाट दाना र खुर्कोटमा निर्माण थालिएको सबस्टेशनको काम करीब ४० प्रतिशत सम्पन्न भइसकेको छ भने ४२ किलोमिटर प्रसारण लाइनका लागि टावर राख्ने ठाउँमा जग्गा अधिग्रहण र रुख काट्ने प्रक्रिया अघि बढेको छ । २०७१ भित्र २ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण ३ वर्ष पछाडि धकेलिएपछि यसको लागत पनि बढ्ने भएको छ ।

    आयोजनाले सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको शेयर निष्कासनका लागि एनआईबीएल क्यापिटल मार्केट्ससँग सम्झौता गरिसकेको र केही दिनमै शेयरको सूचना जारी हुने खड्काले जानकारी दिए ।

    स्रोत: अभियान