पूर्वी नेपालमा सोलार लोकप्रिय

    2925

    विराटनगर, १८ मंसिर । बढ्दो लोडसेडिङ र पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै पूर्र्वी नेपालमा सोलारको माग बढेको छ । दैनिकजसो बढ्दै गएको लोडसेडिङका कारण सर्वसाधारणले सोलार प्यानल जडान गर्न थालेका छन् । पूर्वका ठूला सहरहरूमा लोडसेडिङले अन्धकार भएको अवस्थामा ग्रामीण बस्तीहरूमा भने अहिले सोलारको झिलिमिली देख्न सकिन्छ । विद्युत् लाइन पुगेको स्थानमा बिजुली आउने र जाने कुनै टुंगो नभइरहेको अवस्थामा ग्रामीण बस्तीमा भने सोलारले गाउँ नै झिलिमिली बनाएको छ ।
    थोरै लगानी गरेर लामो समयसम्म पैसा नतिरी बिजुली बाल्न पाइने भएपछि सर्वसाधारण सोलारप्रति आकर्षित भएको विराटनगरस्थित दीप लाइट इनर्जी प्रालिका प्रबन्ध निर्देशक उमेश जोशी बताउँछन् । कम्पनीहरूले सोलार प्यानलमा २५ वर्षसम्मको ग्यारेन्टी दिने गरेका छन् । यसले पनि सोलार कम्पनीहरूले उपभोक्ताको मन जित्न सफल भएको उनको ठम्याइ छ । जोशीका अनुसार २ वर्षअघि २० हजार पर्ने सोलार अहिले १२–१३ हजार रुपैयाँमै उपभोक्ताले पाउँछन् । मूल्य घटेकाले सामान्य आयस्रोत भएका व्यक्तिले पनि सोलार जडान गर्न सक्ने अवस्था रहेको उनको बुझाइ छ ।
    Solar Power Systemविराटनगरमा दीप लाइट इनर्जी, प्रिमियर इनर्जी, कृष्ण ग्रिल एन्ड इन्जिनियरिङ वक्र्स प्रालि, तुम्रोक इनर्जी, दीपज्योति ट्रेडलिङ्कले सोलार बिक्री गर्दै आएका छन् । उनीहरूले जर्मनी, सिङ्गापुर, जापान, स्पेन, भारत, चीनलगायतका मुलुकमा उत्पादित सोलारहरू बिक्री गर्दै आएका छन् । “यसबाहेक नेपालमा उत्पादित सोलारको माग पनि बजारमा बढ्दो छ,” तुम्रोक इनर्जीका सञ्चालक तारा सुब्बाले भने । एकपटक किनेपछि वर्र्षांैसम्म बिनालगानी प्रयोगमा ल्याउन सकिने भएकाले पनि अहिले सोलारतर्फ उपभोक्ताहरूको आकर्षण बढेको सुब्बाले बताए । ३ देखि २ सय वाट क्षमताका सोलार बजारमा पाइन्छन् ।
    “मूल्यका दृष्टिकोणले पनि सस्तोदेखि महँगोसम्मका सोलार उपभोक्ताले छानीछानी किन्न सक्ने अवस्था छ,” प्रबन्ध निर्देशक जोशीले भने, “अहिले बजारमा २ हजारदेखि ८० हजार रुपैयाँसम्मका सोलार पाइन्छन् ।” विगतमा मासिक ३० वटा सोलार बिक्री गर्दै आएका जोशीले हाल मासिक ६० वटाभन्दा बढी सोलार बिक्री गर्दै आएको बताए । पहिलो पहाडी क्षेत्रका गाउँबाट मात्रै माग आउँथ्यो भने अहिले तराईका सहरी क्षेत्रमा समेत सोलारको माग बढेको छ । जोशीले भने, “सहरी क्षेत्रमा मात्रै मासिक चार–पाँचवटा जडान हुन्छ ।”  मोरङको पहाडी गाविस भोगटेनी, केराबारी, वारङ्गी, याङशिला, सिंहदेवी, जाँते, लेटाङलगायतका गाविसमा यस वर्षमात्रै ५ सयभन्दा बढी सोलार जडान भएको उनले बताए । मोरङका साथै पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा, ताप्जेजुङ, तेह्रथुम, इलाम, उदयपुर, रामेछापलगायतका जिल्लाबाट पनि सोलारको अत्यधिक माग आइरहेको उनले जानकारी दिए ।
    त्यस्तै सोलार जडान गरिसकेपछि खर्र्चमा समेत कमी आउने उपभोक्ताहरूको अनुभव छ । मोरङ भोगटेनी–४ का सन्तोष लिम्बूका अनुसार मटीतेलको प्र्रयोग गर्दा मासिक ७ सयभन्दा बढी खर्च हुने गर्छ । लिम्बूले भने, “एकपटक खर्च गरेपछि पटक–पटक खर्च गर्नुपर्दैन ।”
    दुर्गम क्षेत्रका लागि सरकारले सोलार जडान गर्दा क्षमताअनुसार सहुलियत उपलब्ध गराउँदै आएको छ । दुई वर्षअगाडि सरकारी सहुलियतमा सोलार जडान गरेका मोरङ वारङ्गी–२ का आइसिंह मगरका अनुसार २० वाट क्षमताको सोलार जडान गर्दा ६ हजार रुपैयाँ सरकारी सहुलियत प्राप्त हुने र्र्गछ । विराटनगर, इटहरी, धरान, इनरुवा, उर्लाबारी, बिर्तामोड, दमकलगायतका सहरी क्षेत्रमा समेत पछिल्लो समयमा सोलार जडान गर्ने उपभोक्ता अत्यधिक वृद्धि भएको जोशीले बताए ।

    प्रस्तुति: कास