चमेलिया आयोजनाको सफलता ‘उल्लेखनीय’

1590

सुदूरपश्चिमको चमेलिया जलविद्युत् आयोजना पूरा भएसँगै सो क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माणको बाटो खुल्ने अधिकारीहरूले अपेक्षा गरेका छन्।

निर्धारित समयभन्दा निकै ढिलो गरी पूरा भएको ३० मेगावाट क्षमताको चमेलियाले अहिले परीक्षण उत्पादन थालेको छ।

त्यसले देशभर लोडशेडिङ हुन नदिने अभियानमा सघाउ पुग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सुदूरपश्चिममा सरकारले थालेको पहिलो जलविद्युत् आयोजना चमेलिया जलविद्युत परियोजनाको काम १० वर्षपछि पूरा भएको हो।

आपूर्ति

उक्त परियोजनाबाट उत्पादन हुने ३० मेगावाट बिजुलीले खासगरी पश्चिमी भेगमा बिजुली आपूर्ति गर्न सघाउ पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

उनले भने, “सुक्खायाममा पनि यसले बेलुकाको समयमा पूर्णरूपमा ३० मेगावाट बिजुली दिन्छ। यसले हामीलाई बढी बिजुलीको माग भएको समयमा व्यवस्थापन गर्न मद्दत पुग्नेछ र यसले पश्चिम क्षेत्रको आवश्यकता पूरा गर्ने हुँदा अहिले जस्तो कालीगण्डकीको बिजुली धनगढी पुर्‍याउन नपर्ने भएपछि हामीलाई सजिलो हुनेछ।”

अहिले चमेलियाको दुई युनिटमध्येको १५ मेगावाटको पहिलो युनिटको पानीको भार थाम्ने ‘लोड रिजेक्सन’ भनिने परीक्षण सफल भइसकेको आयोजनाले जनाएको छ।

यसै हप्ता चमेलियाको पहिलो युनिटको बिजुली कैलालीको अत्तरियाको प्रसारणलाइनमार्फत् केन्द्रीय प्रसारणलाइनमा जोड्ने र दुई हप्तापछि दोस्रो युनिटको बाँकी १५ मेगावाट पनि जोड्ने योजना अगाडि बढाइएको परियोजनाका प्रमुख अजयकुमार दाहालले बताए।

टेवा

चमेलियाको उक्त परियोजनाको खर्च ८ अर्ब रुपैयाँ बढेर १६ अर्ब पुगेको बताइएको छ।

विकट दार्चुलाबाट कैलाली जोडिने १३१ किलोमिटर लामो प्रसारणलाइन बनाइएको यो पहिलो योजना भएको बताउँदै यसले सुदूरपश्चिममा जलविद्युत्‍ आयोजना निर्माणको ढोका खोलिदिएको आयोजना प्रमुख दाहालले बताए।

उनले भने, “१२५ मेगावाटको अर्को आयोजना आउँदैछ। कलङ्गा बझाङबाट पनि आँउदैछन्। भनेपछि अहिले बजेट बढ्न पुगे पनि बनेको पूर्वाधारले अन्य आयोजनाका लागि ठूलो टेवा पुग्नेछ।”

चमेलियाको सफलताले बूढीगङ्गाका साथै पश्चिम सेती र पञ्चेश्वर जस्ता ठूला परियोजनाको विकास गर्न लगानीकर्ताको आत्मविश्वास बढ्ने अधिकारीहरूको अपेक्षा छ।

-बीबीसी