दोलखावासीले पाउने माथिल्लो तामाकोशीको शेयर फागुनमा आउँदै

    1011

    मङ्सिर १३, दोलखा । विभिन्न अवरोधका कारण २ पटकसम्म सरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले दोलखावासीबाट सङ्कलन गर्ने भनेको शेयर फागुनसम्म जारी गर्ने भएको छ ।

    वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना प्रभावित दोलखावासीबाट सङ्कलन गरिने १० प्रतिशत शेयर आयोजनाले चालू आर्थिक वर्षको फागुनसम्ममा जारी गर्ने भएको हो । मजदूरहरूको आन्दोलनका कारण पूर्वनिर्धारित मितिमा शेयर सङ्कलन हुन नसकेपछि २०७१ चैत ७ गते विज्ञप्ति जारी गरी दोस्रोपटक सारिएको शेयर सङ्कलन कार्य चालू आवको फागुनसम्ममा जारी गर्ने तयारी गरेको आयोजनाले जानकारी दिएको छ ।

    विभिन्न व्यवधानका हुँदाहुँदै पनि आयोजनाले उल्लेख्य गति लिएसँगै शेयरसम्बन्धी छलफल गर्न यही मङ्सिर १६ गते जिल्लास्तरीय समन्वय समितिको बैठक आयोजना गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आयोजनाबाट प्रभावित जिल्लावासीले जारी पूँजीको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १ सय अङ्कित १ करोड २५ लाख कित्ता (रू. १ अर्ब २५ करोड) शेयरको वितरण प्रक्रियाबारे बैठकले निर्णय गर्ने आयोजनाले बताएको छ । आयोजनाको कुल जारी पूँजी ११ करोड कित्ता छ ।

    मङ्सिर १ गतेदेखि लागू भएको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुसार आयोजनाले नयाँ प्रक्रियाबाट फागुनसम्ममा शेयर माग गर्ने तयारी गरिरहेको प्रवक्ता डा. न्यौपानेले बताए । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद–३ को धितोपत्रको सार्वजनिक निष्काशनसम्बन्धी व्यवस्थाको नियम ९ देखि १६ सम्म, परिच्छेद–७ को सूचना, जानकारी तथा विवरणसम्बन्धी व्यवस्थाको नियम २६ र २७ तथा परिच्छेद–९ को विविधको नियम ४४ अनुसार शेयर जारी गर्नुपर्ने भएकोले केही महीना ढिला हुने प्रवक्ता डा. न्यौपानेले बताए ।

    यसअघि आयोजनाले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता, कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारी तथा कम्पनी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका लागि प्रतिशेयर रू. १ सय अङ्कित ३ करोड ६० लाख ६ हजार (रू. ३ अर्ब ६० करोड ६ लाख) बराबरको संस्थागत शेयर बाँडफाँटसमेत गरिसकेको छ । रू. ३५ अर्ब २९ करोडको लागतमा दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको आयोजनाले कात्तिक मसान्तसम्म ८३ प्रतिशतसम्म निर्माण सम्पन्न गरेको छ ।

    Source: Abhiyan