जलविद्युत् कम्पनीहरु साधारणसभाको चटारोमा

    1405

    काठमाडौँ– विभिन्न जलविद्युत् कम्पनीले आज यहाँ वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीलाई आर्कषक बोनस शेयर  घोषणा गरेका छन् ।

    आज यहाँ अपि पावर कम्पनी र लिवर्टी इनर्जीले साधारणसभा सम्पन्न गरेका हुन् । अपि पावर कम्पनीले आर्थिक वर्ष २०७३/७४ को खुद मुनाफाबाट आठ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको आज यहाँ सम्पन्न  १४ ओं वार्षिक साधारणसभाले आठ प्रतिशत बोनस शेयरबाट कायम रहने शेयर संख्या ११ करोड ३४ लाख कित्ता हुनेछ ।

    त्यसमा विद्यमान एक सेयर र बराबर दुई शेयरका दरले हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयरबाट रु दुई अर्ब २६ करोड ८० लाख प्राप्त हुनेछ ।

    सो रकम मध्ये रु एक अर्ब सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत् आयोजनामा लगानी गर्ने तयारी गरिएको कम्पनीका कार्यकारी निर्देशक सञ्जिव न्यौपानेले जानकारी दिनुभयो ।

    यस्तै बाँकी रहने रु एक अर्ब २६ करोड ८० लाख अपि पावरले निर्माण गर्ने १८ मेगावाट क्षमताका विभिन्न सौर्य ऊर्जा प्रणालीमा लगानी गर्ने तयारी गरिएको छ । यस्तै अपि पावरले माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया समेत सुरु गरेको छ । दार्चुलामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया ४० मेगावाट क्षमताको रहेको छ । सो आयोजनाको लागत रु सात अर्ब २० करोड रहेको छ ।

    यस्तै लिवर्टी इनर्जी कम्पनीको पनि आज साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आम  सर्वसाधरणमा सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

    कम्पनीले तीन वटा जलविद्युत आयोजना निर्माण अगाडि बढाएको छ । लमजुङमा निर्माणधिन २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत आयोजना आगामी असोजमा सम्पन्न गर्ने तयारी गरिएको छ । आयोजनाको शुक्रबार मात्रै मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ ।

    कम्पनीले प्रर्वद्धन गरेको वाग्लुङ जिल्लामा आयोजना स्थल रहेको बडीगाड खोलामा २१ मेगावाट जलविद्युत आयोजना निर्माण सुरु गर्ने तयारी गरेको कम्पनीका प्रमुख कुशकुमार जोशीले जानकारी दिनुभयो ।

    यस्तै सानिमा माई हाइड्रो पावर लिमिटेडको पनि शुक्रबार साधारणसभा सम्पन्न भएको आज प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    कम्पनीले ११५ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यसका लागि रु  १ अर्ब ८ करोड रकम लगानी गर्ने प्रस्ताव पारित गरेको छ ।

    कम्पनीले ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनामा रु ४८ करोड, २८ मेगावाट क्षमताको तल्लो लिखुमा रु ४५ करोड र १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत आयोजनामा रु १५ करोड लगानी गर्ने प्रस्ताव पारित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा सुर्वणदास श्रेष्ठले जानकारी दिनुभयो ।

    मध्यतमोर र लोअर लिखुमा हकप्रद सेयर निष्कासबाट प्राप्त रकम र मैलुङखोलामा गत आर्थिक वर्षमा गरेको खुद नाफा संचित कोषमा राखेर लगानी गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । गत आवमा कम्पनीले रु २८ करोड ९९ लाख खुदनाफा गरेको थियो ।

    सानिमामाईले २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

     

    -अर्थ संसार