दोर्दी ‘ए’ सुरुङको ब्रेक थ्रु

    2439

    लमजुङ — दोर्दीखोलामा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेकथ्रु’ भएको छ ।

    २०७१ असोजबाट निर्माण थालिएको आयोजनाको मुख्य सुरुङ अडिट पोर्टलबाट इनलेट पोर्टलतर्फ (अडिट अप स्ट्रिम) को १.३४ किलोमिटर सुरुङको ‘ब्रेकथ्रु’भएको हो ।
    आयोजनाको मुख्य सुरुङ २.६२ किमिमध्ये उक्त ब्रेकथ्रुसँगै सुरुङ निर्माणको ७५ प्रतिशत काम सकिएको छ । चार फेसबाट टनेल खन्ने कार्य भइरहेकामा इनलेट पोर्टल र अडिट अप स्ट्रिमको बाटो खोलिएपछि अब अडिट डाउन स्ट्रिमबाट १ सय २० मिटर र आउटलेट पोर्टलबाट ५ सय ३३ मिटर गरी ६ सय ५३ मिटर मात्रै सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । सुरुङको लम्बाइ २ दशमलव ६ किमिलाई दुई भागमा विभाजन गरी खन्ने काम धमाधम छ । सुरुङ आगामी मे महिनासम्म सम्पन्न गरिसक्ने आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए ।
    आयोजनाका मुख्य कार्यकारी इन्जिनियर विष्णुबहादुर सिंहले बुधबार ‘ब्रेकथ्रु’ का क्रममा जलविद्युत् निर्माणका लागि सुरुङ निर्माण एक महत्त्वपूर्ण कार्य रहेको बताए । उनले सुरुङमा पहिलो चरणको काम सम्पन्न हुँदा उत्साहित हुँदै तोकिएको समयमा आयोजना निर्माण सकिने विश्वास व्यक्त गरे ।
    आयोजनाका सहायक प्रोजेक्ट म्यानेजर एवं अन्डर ग्राउन्ड इन्चार्ज सूर्य जोशीले सुरुङ निर्माण कार्य निकै कठिन हुने भए पनि मानवीय क्षतिबिना सुरक्षित तवरबाट निर्माण गर्न सफल भएको बताए । यसअघि सुरुङ निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी मेगाटेकले निर्माणमा ढिलाइ गरेपछि उसलाई हटाएर सुरुङ निर्माणको जिम्मा वाइबा कन्ट्रक्सनलाई दिइएको थियो । लिबर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माणकार्य ६० प्रतिशत सकिएको छ । डयामको फाउन्डेसन निर्माण सकिएको छ । फिजिकल कन्ट्रक्सन ५० प्रतिशत सकिएको छ । आयोजनाको हेडवक्र्स र पावरहाउस बज्रगुरु कन्ट्रक्सन प्रालिले निर्माण गरिरहेको छ । पावरहाउसको पनि फाउन्डेसन निर्माण सकिएको छ ।
    – कान्तिपुर