जलविद्युतको सूचकले घटायो शेयर बजार

1090

May 23, 2019

काठमाडौं। जलविद्युत कम्पनीहरुलाई नियमनको दायरमा ल्याउने विषयले बिहीबार जलविद्युत कम्पनीहरुको शेयरमा भारी गिरावट आएको छ।

बिहीबार जलविद्युतको सूचक ४.८२ प्रतिशतले गिरावट आउँदा नेप्से सूचक पनि ५.०८ अंकले घटेको छ।

जलविद्युत क्षेत्रका कम्पनीको नियामक निकाय नहुँदा वित्तीय सुशासन नभएको भन्दै चर्को विरोध हुँदै आएको थियो।

उर्जा मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगले प्राथमिक शेयर निष्काशन गर्ने क्रममा पहिला आयोगबाट अनुमति लिने व्यवस्थासँगै आफ्नो कार्य सुरु गरेको छ। यसले जलविद्युत कम्पनीलाई थप नियमन गर्ने देखिएको छ।

शेयर बजार बढ्ने क्रममा पछिल्लो दिन जलविद्युत क्षेत्रका कम्पनीको शेयर मूल्य बढ्दै आएको थियो।

तर बोर्डले बुधबार सूचना जारी गर्दै प्राथमिक शेयर निष्काशन गर्नुअघि आयोगबाट अनुमति लिनु पर्ने व्यवस्था भएको जानकारी दिएको थियो।

नेप्से सूचक घटेर १३१४.५५ अंकमा झरेपनि कारोबार रकम भने ९३ करोड २६ लाख रुपैयाँको भएको छ।

जम्मा १७० वटा कम्पनीको कारोबार हुँदा ४७ वटाको बढेको छ भने १०२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। बुधबार अधिकांश जलविद्युत कम्पनीको मूल्य बढ्ने क्रममा सर्किट लागेकोमा आज सबैभन्दा धेरै घट्ने कम्पनीमा जलविद्युतकै कम्पनी छन्।

एनएमबी माइक्रोफाइनान्स र मल्टिपर्पोज फाइनान्सको शेयर बढ्ने क्रममा सर्किट लागेको छ। सबैभन्दा धेरै अपर तामाकोशीको १५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

एक हप्ताको अवधिमा लगानीकर्ताको रोजाइमा परिवर्तन आएको छ। गत साता नेपाल बैंक र शिवम सिमेन्टको शेयरमा लगानीकर्ताको आकर्षण देखिदै आएकोमा पछिल्लो दुई दिनमा अपर तामाकोशी तथा हिमालयन डिस्टिलरीमा देखिन्छ।

Source: The Bizmandu