माथिल्लो तामाकोसीको ढिलाइले ७ अर्ब लागत बढ्ने

    1186

    दोलखाको लामाबगरमा निर्माणाधिन बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षात्का कारण ढिलाइ हुने देखिएको छ । त्यस्तै, निर्माणमा ढिलाइ हुँदा तथा अमेरिकन डलरको मूल्यमा आएको उतारचढाउले आयोजनाको मूल्य पनि ७ अर्ब रुपैयाँ वृद्धि हुने अनुमान छ

    आयोजनाले यही असार मसान्तसम्म ९५ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखेको थियो । तर, साउन मसान्तसम्म पनि ९१ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबढी समयसीमा बढ्दै जाँदा ३५ अर्ब २९ करोडमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

    विदेशी विनिमयदरमा भएको वृद्धि, भूकम्पले क्षति पुर्‍याँउदाको २ वर्ष ढिलाइलगायतका कारण आयोजनाको लागत करिब ७ अर्ब ४३ करोड बढ्ने अनुमान गरिएको उनले बताए । ३५ अर्ब २९ करोड लागत अनुमान गरिँदा १ अमेरिकी डलरबराबर नेपाली रुपैयाँ करिब ८० प्रक्षेपण गरिएको थियो । तर, अहिले १ अमेरिकी डलरबराबर नेपाली रुपैयाँ १०२ पुगेको छ । आयोजनामा अहिलेसम्म ३४ अर्ब ६४ करोड खर्च भइसकेको छ ।

    हालसम्म ९०.५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न गरेको आयोजनामा वर्षात्का कारण भएको सामग्री ढुवानीको सुस्तताले समस्या आएको प्रवक्ता न्यौपानेले बताएका छन् । निर्माणाधिन लामोसाँघु–जिरी सडक खण्डअन्तर्गतको खाडीचौर चरिकोट खण्डमा सडक चौडासहित स्तरोन्नतिको काम भैरहेकाले सामग्री ढुवानीमा समस्या भएको हो । प्रवक्ता न्यौपानेले उक्त सडकको विकल्पमा खुर्कोट र खिम्ती हुँदै आयोजनास्थलसम्म ढुवानीको व्यवस्था मिलाइएको बताए ।

    उनका अनुसार आयोजनाका लागि आवश्यक पर्ने ठूला उपकरण र पेनस्टक पाइपहरू सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् आयोजनामा भण्डारण गरिएको छ ।

    आयोजनाले मुख्य सिभिल संरचनाअन्तर्गत टेलरेस सुरुङ खन्ने कार्य, विद्युत्गृह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य भने सम्पन्न गरिसकेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने काम ९३ प्रतिशत, हेडवक्र्स कंक्रिट कार्य ८९ दशमलव ५ प्रतिशत निर्माण सम्पन्न गरेको जनाएको छ । यस्तै, अडिटलगायत अन्य सुरुङहरू खन्ने कार्य ८५ दशमलव ३ प्रतिशत, विद्युत्गृह र ट्रान्सफर्मर र कंक्रिटको काम ८४ प्रतिशत सम्पन्न गरिसकेको छ । आयोजनाले ०७५ असार मसान्तभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य लिए पनि उक्त समयभित्र निर्माणकार्य सम्पन्न हुन नसक्ने देखिएको छ ।

    स्रोत:नयाँपत्रीका