२१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको पीडीए तयार

    2796
    काठमाडौं । नेपाली र कोरियालीको संयुक्त लगानीमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) तयार भएको छ ।
    तयार भएको पीडिए अब बस्ने मन्त्रिपरिषदमा लैजाने तयारी भएको छ ।
    ऊर्जा मन्त्रालयले पीडीएको प्रस्ताव तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकमा माथिल्लो त्रिशुली १ को पीडीए पेश हुने ऊर्जा सचिव अनुपकुमार उपाध्यायले बताए । पीडीएमा नेपाल विद्युत प्राधिकरणसँग हुने विद्युत खरिद विक्रि सम्झौता (पीपीए) विषय समावेश नभएको उनले जानकारी दिए । प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि र ऊर्जा मन्त्रालयबीच पीडीएको प्रारम्भीक सम्झौता हुनुका साथै अर्थ मन्त्रालयले सहमति दिएपछि पीडीए मन्त्रिपरिषदमा पेश हुन लागेको उनले बताए । मन्त्रिपरिषदबाट पीडीए पास भएपछि पीपीएका लागि विद्युत् प्राधिकरण र नेपाल वाटरबीच छलफल हुनेछ ।
    कोरियाली कम्पनीले आयोजना नेपाल वाटरमार्फत निर्माण गर्न लागेको हो ।  आयोजनामा कोरिया साउथ इष्ट पावर कम्पनी लिमिटेड (कोसेभ) को ५०, डेलिम कन्ट्रक्सन कम्पनी लिमिटेडको १५, केरुङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को १५ र नेपालको जेड पावरको १० प्रतिशत स्वामित्व छ । आयोजना बनाउन कोरियाली कम्पनीले डलरमा पीपीए मागेको छ ।
    सरकारले ल्याएको ऊर्जा संकट निवारण तथा १० वर्षे विद्युत विकास योजनामा उल्लेख भएका धेरै कुरा पीडीएमा समावेश गरिएको छ । प्रवद्र्धकलाई ३५ वर्षसम्मको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने प्रस्ताव पीडीएमा उल्लेख छ । यस्तै बढीमा १० वर्षसम्म डलरमा पीपीए र केही  डलर र केही नेपाली रुपैयाँमा पीपीए हुनेछ । काबु बाहिरको परिस्थितीका बारेमा पनि पीडीएमा उल्लेख गरिएको छ ।
    नेपाल वाटरले गरेको अध्ययनले आयोजनाको लागत ५९ करोड अमेरिकी डलर (झण्डै ६० अर्ब रुपैयाँ) लाग्ने देखाएको छ । यो २ वर्षअघिको लागत मूल्य हो । यसलाई आधार मान्दा प्रति मेगावाट लागत ३० करोड रुपैयाँ नाघ्ने देखिएको छ । यही दरका आधारमा उसले महँगो दरमा अमेरिकी डलरमा पीपीए गर्न विद्युत् प्राधिकरणमा प्रस्ताव गरेको छ । नेपाल वाटरले पहिलो वर्ष उत्पादन हुने बिजुलीको मूल्य प्रतियुनिट साढे ७ रुपैयाँ (६.९ सेन्ट डलर) दर प्रस्ताव गरेको छ । उसले वार्षिक ३ प्रतिशतका दरले १० पटक मूल्यवृद्धिको प्रस्ताव समेत गरेको छ । मूल्य वृद्धि वर्षेनी थपिदै जादा बिजुलीको मूल्य प्रति युनिट १० रुपैयाँ भन्दा माथि पर्छ ।
    लगानी बोर्ड र भारतको जीएमआर इनर्जी लिमिटेडबीच ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना र बोर्ड र भारतको सतलज जलविद्युत निगम लिमिटेडबीच ९ सय मेगावाटको अरुण तेस्रो आयोजना बनाउन पीडीए भएको छ ।
     Source: Bhaahrakhari