भारतसंगको विद्युत खरिद सम्झौता चैत १७ गतेदेखि सकिदै, नयाँ सम्झौता गर्न प्राधिकरणले थाल्यो पहल

    1317

    भारतबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही चैत १७ गतेदेखि सकिदै छ । बिजुली आयातलाई निरन्तरता दिन नेपाल विद्युत प्राधिकरणले नयाँ सम्झौता गर्नका लागि पहल सुरु गरेको छ ।

    बिजुली आयातको सम्झौता गर्न भारतकोे एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडसंग छलफल सुरु भएको प्रवत्ता प्रवल अधिकारीले बताए । निर्धारित समयमा एनभीभीएनसंग खरिद सम्झौता भई बिजुली आपूर्ति निरन्त हुने उनले जानकारी दिए । “अहिले हामीले आन्तरिक छलफल गरिरहेका छौ, छिट्टै एनभीभीएनसंग सम्झौता हुनेछ” उनले भने ।

    पुसको दोस्रो साता विद्युत खरिद सम्झौताको म्याद सकिए पनि प्राधिकरणको अनुरोधमा एनभीभीएनले ३ महिना समय थप गरेको थियो । एनभीभीएनले मार्च ३० सम्म बिजुली दिन सहमत भएको छ ।यो बिजुली ढल्केबर–मुज्जफरपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको छ । प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४६० मेगावाटसम्म बिजुली आयात गरेको छ ।

    १४५ मेगावाट बाहेक अन्य बिजुली व्यापारिक दरमा प्राधिकरणले भारतबाट खरिद गर्दै आएको छ । १४५ मेगावाट सस्तो दरमा गरिद गरेको छ । कुसाह–कटैया, परवानीपुर–रक्सौल, बुटवल–आनन्दनगर र टनकपुरलगायत विभिन्न १० स्थानबाट बाँकी बिजुली आयात भइरहेको छ ।

    हाल बिजुलीको माग १ हजार २ सय मेगावाट मात्र रहेको छ । नियमित रुपमा बिजुली आपूर्ति भएपछि माग घटेको अधिकारी बताउछन् । ९९० देखि १ हजार मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ । २६० मेगावाट बराबरको लोडसेडिङ भएको उनले जानकारी दिए । लोडसेडिङ साँझ ३ घण्टा उद्योगमा मात्र भइरहेको छ ।

    विकासन्युज