एईपीसीको स्वच्छ विकास संयन्त्र आयोजनालाई अवार्ड

    1575

    वैैशाख ३१, काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)ले प्रवद्र्घन गरेको लघु जलविद्युत् स्वच्छ विकास संयन्त्र आयोजनाको ‘नवीन परिणाममा आधारित लगानी’ एक अन्तरराष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत भएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ढाँचा महासन्धिअन्तर्गत दर्ता भएको उक्त आयोजना ग्लोबल पार्टनरशिप अन आउटपुट बेष्ड एड (जीपीओबीए)बाट सन् २०१६ को इन ओबेशन अवार्डद्वारा पुरस्कृत भएको हो । विश्व बैङ्कअन्तर्गत रहेको जीपीओबीए सन् २००३ मा विभिन्न दातृनिकायबाट स्थापना भएको कोष हो । यो पुरस्कार वार्षिक रूपमा प्रदान गरिन्छ ।

    जनसङ्ख्या तथा वातावरण मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालस्थित विश्व बैङ्कका निर्देशक टाकुया कामाताले विश्व बैङ्कको तर्फबाट सो अवार्ड वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललाई प्रदान गरेका हुन् ।

    लघु जलविद्युत् आयोजनाहरूको स्थापनामार्फत नेपालका ग्रामीण क्षेत्रमा विस्तारित विद्युतीय सेवाले स्थानीय जनजीवनमा सहजता ल्याएको छ । त्यसैले परिणाममा आधारित लगानीको नवीन कार्य भएकोले केन्द्रलाई पुरस्कृत गरिएको हो । पुरस्कृत आयोजनामा नेपाल सरकारको नवीकरणीय अनुदान नीतिअन्तर्गत निर्मित कुल करीब १५ मेगावाट क्षमताका ४ सय ५० ओटा लघु जलविद्युत्लाई संयोजन गरिएको छ । यो स्वच्छ विकास संयन्त्र आयोजना अक्टोबर १८, २०१० मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ढाँचा महासन्धिमा दर्ता भएको छ । आयोजनाबाट हालसम्म ४ सय ३३ ओटा लघु जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न भई १ लाख ३३ हजार १ सय ५४ ग्रामीण घरधूरीमा विद्युत्को पहुँच पुगेको छ । विश्व बैङ्कको सहयोगमा दर्ता भएको यस आयोजनाबाट स्थानीय क्षेत्रमा उद्यमशीलता र आर्थिक क्रियाकलापहरूमार्फत रोजगारी तथा आयआर्जनका अवसरहरू सृजना भई गरीबी निवारण र जीवनस्तरमा सुधार ल्याउनुका साथै प्रत्यक्षरूपमा शिक्षा, लैङ्गिक समानता, महिला सशक्तीकरण, स्वास्थ्य तथा वातावरण संरक्षणमा योगदान पुगेको केन्द्रले बताएको छ ।

    आयोजनाको कार्यान्वयनपश्चात् त्यहाँका उपभोक्ताको बचतमा वृद्धि भएको, विद्युत्को उपयोगमा वृद्धि भई उज्यालो पार्न चाहिने खर्चमा कमी आएको, समयको बचत भई अन्य आयमूलक कार्यका लागि समय भएको तथा आयआर्जन गर्नेखालका परिप्रयोग प्रवद्र्घनमा वृद्धि भएको केन्द्रको दाबी छ । आयोजनाबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण विक्रीका लागि विश्व बैङ्कसँग सम्झौता भएकोमा हालसम्म ९३ हजार ४ सय ३७ टन प्रमाणित उत्सर्जन न्यूनीकरण जारी भई सोको विक्रीबाट करीब ६ लाख ५० हजार अमेरिकी डलर आम्दानी प्राप्त भइसकेको केन्द्रले जानकारी दिएको छ ।

    जलवायु परिवर्तनसम्बन्धी क्योटो अभिसन्धिको प्रावधानअनुरूप केन्द्रले हालसम्म बायोग्यासका पाँच, सुधारिएको पानीघट्टको एक, लघु जलविद्युत्को एक र सुधारिएको चुलोको एक गरी हालसम्म आठओटा स्वच्छ विकास संयन्त्र आयोजनाहरू दर्ता गराइसकेको छ  । यसअन्तर्गत हालसम्म झण्डै २ लाख १६ हजार बायोग्यास प्लाण्ट, कुल १५ मेगावाट क्षमताबराबरका ४ सय ५० ओटा लघु जलविद्युत् आयोजना, लगभग ३ हजार ४ सय सुधारिएको पानीघट्ट तथा २२ हजार सुधारिएको चुलो दर्ता भइसकेका छन् ।

    • अभियान