हेटौँडा–भरतपुर प्रसारण लाईन आयोजना समयमै सम्पन्न नहुने निश्चित

    2630

    हेटौँडा, १२ असार ।

    trl-energy नेपाल विद्युत प्राधिकरणले पावर पुलको रुपमा विस्तार गर्न लागेको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको काम समयमै सम्पन्न नहुने निश्चित भएको छ । प्रसारण लाईन विस्तार क्षेत्रमा रुख कटान, टावर र सव–स्टेशनको काम सुस्त गतिमा भईरहेकाले समयमै काम सम्पन्न नहुने निश्चित भएको हो ।

    परियोजना अन्तरगत समुदायिक वनको रुख कटानको काम समेत आधा मात्रै भएको छ । चितवनको २५ मध्ये ५ वटा र मकवानपुरका २० मध्ये ६ वटा सामुदायिक वनको मात्रै रुख कटानको काम भएको छ । ‘मकवानपुरका ६ वटा सामुदायिक वनको रुख कटान भएको छ, त्यसमध्ये तीनवटा सामुदायिक वनको काठ समूहलाई हस्तान्तरण भईसकेको छ भने तीन वटाको बाँकी छ ।’–जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत थिरबहादुर कार्कीले भने ।

    बर्षा शुरु भएकाले कटान आदेश रोकिएको जनाईएको छ । ‘वन ऐन अन्तरगत जेठ मसान्तदेखि कार्तिक १५ गतेसम्म कटान रोकिन्छ, त्यो अवधिमा वन प्रवेशमा रोक लगाईएको छ ।’–कार्कीले भने । आयोजनाले निर्माण गर्ने २ सय २६ वटा टावर मध्ये १ सय ९० वटा टावर सामुदायिक वन क्षेत्रमा पर्ने भएकाले रुख कटान हुनु अनिवार्य छ ।

    प्रसारण लाईन विस्तारका लागि अहिलेसम्म ७४ वटा टावरको फाउन्डेशनको काम भएको जनाईएको छ । ‘हामी बर्षामा पनि काम गरिरहेका छौं ।’–आयोजनाका इन्जिनियर रमेश घिमिरेले भने–‘ समस्या नरहेका स्थानमा टावरको फाउन्डेशनको काम भईरहेको छ ।’ सन् २००९ मार्च १६ मा रुख कटान र तार विस्तारको ठेक्का पाएको भारतिय कम्पनी आईकम टेलीको सम्झौता २०१२ जुन ३० मा सकिएपछि प्राधिकरणले पुनः १४ महिना थप गरेको छ ।

    प्रस्तुति: कारोबार