सात आयोजनासँगको पीपीए स्वीकृत

    1225

    7 project ppaकाठमाडौं, ३१ वैशाख – स्वदेशी लगानीमा निर्माण हुन लागेका सात आयोजनासँगको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) स्वीकृत भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले पीपीए स्वीकृत गरेका यी आयोजनाको जडित क्षमता ८३ मेगावाट छ । प्रवद्र्धकसँग औपचारिक सम्झौता हुन बाँकी छ ।
    पीपीएसँगै प्रवद्र्धकले आयोजना निर्माणका लागि लगानी जुटाउन बाटो खुला भएको छ । चालू आर्थिक वर्षको हालसम्म २३ आयोजनासँग २६६ मेगावाटका लागि पीपीए भएको प्राधिकरणले जनाएको छ । यी आयोजनाबाट ०७७ सालसम्म बिजुली उत्पादन हुने प्रवद्र्धक र प्राधिकरणबीच भएको सम्झौतामा उल्लेख छ ।
    यस्तै, भारतबाट विद्युत् आयात गर्न एनभीभीएन विद्युत् व्यापार कम्पनी र पावर टे«डिङ कर्पोरेसन अफ इन्डिया (पीटीसी) लिमिटेडबीचको विद्युत् खरिद सम्झौतालाई पनि प्राधिकरणले स्वीकृति दिएको छ । सञ्चालक समितिले स्वीकृत गरेकाले चाँडै प्रवद्र्धकसँग औपचारिक पीपीए हुने प्राधिकरण विद्युत् व्यापार विभाग प्रमुख प्रवल अधिकारीले जानकारी दिए ।
    आवश्यकताअनुसार मात्र खरिद गर्न सक्ने गरी प्रवद्र्धकसँग ‘टेक एन्ड पे’मा पीपीए भइरहेको उनले बताए । “हालसम्म ४७५ मेगावाट पीपीए ‘टेक एन्ड पे’मा भएको छ, तीमध्ये ८३ मेगावाट नयाँ हो,” उनले भने ।
    हालसम्म प्राधिकरणले निजी लगानीमा बन्ने १९५ आयोजनासँग पीपीए गरेको छ, जसको जडित क्षमता २ हजार ७५८ मेगावाट छ । यी आयोजनाले ०७७ सालसम्ममा बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । प्राधिकरणले हालसम्म न्यूनतम् ५०० किलोवाटदेखि ४५६ मेगावाट क्षमतासम्मका आयोजनासँग पीपीए गरेको छ ।
    यसैबीच, आँखुखोला आयोजनामा सनराइज बैंकको नेतृत्वमा ४ अर्ब रुपैयाँ लगानी हुने भएको छ । आयोजनामा लगानी गर्न बैंंक र आँखुखोला जलविद्युत् कम्पनीबीच सहमति भएको सञ्चालक कुमार पाण्डेले जानकारी दिए । उनका अनुसार प्राधिकरणसँग पीपीए सम्झौता हुनसाथ बैंकसँग कर्जा लगानी हुनेछ ।
    आयोजनाको कुल लागत साढे ५ अर्ब रुपैयाँ छ । मंसिरदेखि निर्माण सुरु गर्ने लक्ष्य प्रवद्र्धकको छ । ०७६ सालसम्म आयोजना सम्पन्न गर्ने पाण्डेले जानकारी दिए । प्राधिकरणसँग ३४ मेगावाट पीपीए भएपछि आयोजना ४२.९ मेगावाटमा निर्माण उनले पाण्डे बताउँछन् । आयोजनाले १० प्रतिशत प्रभावित स्थानीय बासिन्दा र १५ प्रतिशत सर्वसाधारण सेयर निष्कासन गर्नेछ ।

    तिला आयोजनाका लागि समिति
    भारतीय लगानीमा निर्माण हुने भनिएको ४२० मेगावाटको तिला १ र ४४० मेगावाटको तिला २ जलविद्युत् आयोजनाको पीपीएका लागि ऊर्जा मन्त्रालयले सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा समिति गठन गरेको छ । दुई आयोजनाको जडित क्षमता ८६० मेगावाट छ । समितिले आयोजनाको सम्भाव्यता अध्ययन र ऊर्जा उत्पादन क्षमतालगायत आर्थिक तथा प्राविधिक पक्ष विश्लेषण गरी प्रतिवेदन दिनेछ । सोही प्रतिवेदनका आधारमा आयोजना अघि बढ्नेछ । भारतको केएसके इनर्जी लिमिटेड र नेपालको एससी पावरको नाममा तिला १ र २ आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ । आयोजना बनाउन चीनलगायत अन्य मुलुकसँग लगानीका लागि छलफल भइरहेको सम्बद्ध कम्पनीले जनाएको छ ।
    विदेशी लगानी ल्याउने भन्दै केएसकेले अमेरिकी डलरमा पीपीए मागेको छ । हालसम्म मापदण्ड नबन्दा डलरमा पीपीए हुन सकेको छैन । यसअघि, प्राधिकरणले सुक्खायाममा प्रतियुनिट १० रुपैयाँमा पीपीए गर्ने आधार दर तयार गरेको थियो । सरकारले ल्याएको ऊर्जा संकट निवारण तथा १० वर्षे विद्युत् विकास कार्ययोजनामा पनि १० वर्षसम्मका लागि डलरमा पीपीए गर्ने उल्लेख छ ।

    स्रोत : कारोबार