काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक संस्थागत जमानीमा आयोजनाको निश्चित अंश वाह्य लगानीबाट जुटाउने भएको छ ।
आयोजनामा चारओटा अन्तर्राट्रिय वित्तीय संस्थाको समिश्रण वित्त लगानी विधिमा निर्माण सुरु हुने भएको हो । आयोजनामा लगानी जुटाउन सरकारले विभिन्न ४ ओटा विकास साझेदारहरुसँग छलफल थालेको छ । दूधकोसीमा एसियाली विकास बैक (एडीबी), युरोपेली लगानी बैक (इआईबी) , एसियाली पूर्वाधार लगानी बैक (एआईआईबी) र कोरियाली निर्यात–आयात (एक्जिम) बैकहरुले लगानीको प्रतिवद्धता जनाएका छन ।
यी संस्थासंग अहिले अर्थ मन्त्रालयले छलफल गरिरहेको छ । सरकारको प्राथमिकतामा रहेको र दूधकोसी तुलनात्मक रुपमा सस्तो एवं आकर्षक रहेको संभाव्यता अध्ययनले देखाएको छ ।
आयोजनामा एडीबीले ५५ करोड अमेरिकी डलरसम्म, इआईबीले ५० करोड डलरसम्म, एआईआईबीले ३० करोड डलरसम्म र एडीबीको निजी क्षेत्रमा लगानी गर्ने संयन्त्रमार्फत २० देखि ३० करोड डलरसम्म लगानी गर्न सक्ने जानकारी प्राप्त भएको छ ।
यसैगरी कोरियन एक्जिम बैकले आयोजनाको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनमध्ये कुनै एकमा सम्पूर्ण लगानी गर्न सकिने बताएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८को बजेटले दूधकोसीलाई प्राथमिकतामा राख्दै लगानी जुटाए निर्माण थाल्ने घोषणा गरेको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले पहिचान गरेका १० उत्कृष्ठ जलाशययुक्त जलविद्युत आयोजनामध्ये सरकारले दूधकोसीलाई पहिलो प्राथमिकतामा राखेको छ ।
आयोजनाको अनुमानित लागत १ अर्ब ५३ करोड डलर करिब १ खर्ब ६० अर्ब रुपैयाँ र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । सहवित्तीयकरणमार्फत लगानी गर्ने बैकको नेतृत्व एडीबीले गर्ने छ । एडीबीकै अनुदानमा आयोजनाको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ ।
आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र वर्खामा २ अर्ब ८ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुने छ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८७६ हेक्टर जमिन प्रभावित हुनेछ । जलाशययुक्त आयोजना भएता पनि विस्थापित हुने घरधुरी तुलनात्मक रुपमा कम रहेको छ ।
१६२ घरपरिवार मात्र पूर्ण रुपमा विस्थापित हुने र ९८८ परिवार आंशिक प्रभावित हुनेछन । यस्तै १ हजार ५० घर परिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने छ ।
आयोजनाका लागि २२० मिटर अग्लो बाँध निर्माण गरी दुधकोशी नदीमा १७ मिलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय बनाइने छ । यस्तै १३ किलोमिटर लामो सुरुङ हुनेछ । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक लगभग तयारी अवस्थामा छ ।
क्यापिटल नेपाल