माथिल्लो कर्णालीमा साझा धारणा खोज्दै सांसद

    1224

    मुलुकको निकै सस्तो आयोजनाको रूपमा रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि साझा धारणा बनाउन जिल्लाका राजनीतिक दलसँग आग्रह गरिएको छ । सांसद अमरबहादुर थापा, सांसद लक्ष्मी पोखरेल र पूर्वसांसद राजबहादुर बुढाले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि जिल्लामा क्रियाशील राजनीतिक दलले साझा धारणा निर्माण गरेर तत्काल माथिल्लो कर्णाली आयोजना बन्नुपर्नेमा जोड दिएका हुन् ।

    दैलेखमा जलविद्युत् विकासमा सहमति तथा रिपोर्टिङका लागि क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने कार्यशालाको अन्तिम दिन गरिएको बृहत् भेलालाई सम्बोधन गर्दै सांसदले यस्तो बताएका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान), नेपालले आयोजना गरेको बृहत् भेलामा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रमुखलगायतको उपस्थिति जिल्लामा भए पनि कार्यक्रममा रहे पनि छलफलमा भने भाग लिएनन् ।

    जलविद्युत्को विकासले देशको आर्थिक समृद्धि हुने भन्दै सांसदले सरकारको निर्णय मान्ने र नमान्नेको विषयमा चर्चा परिचर्चा भन्दा पनि जिल्लाको समृद्धिका लागि आयोजना बन्नुपर्ने बताएका छन् ।

    दैलेखका संसद्द्वय अमरबहादुर थापा, लक्ष्मीप्रसाद पोख्रेल, नेपाली कांग्रेस दैलेखका सभापति कृष्णबहादुर बिसी, नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा, एमाओवादीका गणेश सलामी, राप्रपा नेपालका भक्तबहादुर शाही, राजमोका कविराज खत्री, नेमकिपाका लक्ष्मी विक, राप्रपाका रामबहादुर थापा, उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष शान्ति शर्मा, पत्रकार महासंघ दैलेखका उपाध्यक्ष चक्रबहादुर केसीले जलविद्युत्को विकासमा राज्यले स्पष्ट नीति निर्माण गरेर सबै जलविद्युत् विकासमा सक्रिय हुन साझा धारणा सँगै आयोजना निर्माण कम्पनीहरूले गरेको व्यवहारबारे चर्चा गरेका थिए ।

    दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्माले विद्युत् उत्पादन कुनै हालतमा रोक्न नहुने भन्दै आयोजनाको जिम्मेवारी बोकेकाहरूले विरोध गर्नेहरूलाई मोटो रकम र अन्य प्रलोभन दिँदै चुप लगाउने प्रवृत्तिले विरोधीहरू झन् बढेको बताए । इपानका अध्यक्ष खड्गबहादुर विष्टले ऊर्जा, अर्थतन्त्र साना अन्य मुलुकले जलविद्युत् क्षेत्रमा गरेको विकास र नेपालको अवस्थाबारे जानकारी दिँदै जलस्रोतको धनी देश नेपाल भएर पनि अहिले लोडसेडिङको मारमा परेको बताए । त्यसका लागि राज्यले देशका विभिन्न स्थानमा रहको जलविद्युत् आयोजनालाई तत्काल निर्माण गर्न वातारण सिर्जना गर्नुपर्ने बताएका हुन् ।

    उनले नेपाल जस्तै साना मुलुक लाओस, भुटानले जलविद्युत्को विकास गरेर नेपालभन्दा अगाडि बढेको बारेमा जिल्लाका नागरिकले जानकारी गराएपछि जिल्लाका राजनीतिक दल र सासंदले जिल्लामा निर्माण हुने जलविद्युत् आयोजना र माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा साझा धारणा बनाएर प्रदेश नं. ६ लाई वास्तविक रूपमा धनी प्रदेश हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

    जलस्रोत पूर्वसचिव सूर्यनाथ उपाध्यायले स्रोतमा कसको अधिकार, वातावरणविद् भरतमणि शर्माले वातावरणीय प्रभाव मूल्यांकन, सेयर, मुआब्जा र जग्गा अधिग्रहरणबारे जानकारी दिएका थिए ।

    विद्युत् विकास विभागका उपमहानिर्देशक प्रवीणराज अर्यालले राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणा पेस गर्दै देशको विद्युत् उत्पादनको अवस्थाबारे जानकारी गराएका थिए । दुईदिने कार्यशालामा दैलेख, सुर्खेत, जाजरकोट, अछाम, कालीकोटका पत्रकार, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    स्रोत: राजधानी