आगामी वर्ष सोलार प्रविधिबाट ६१ मेगावाट बिजुली उत्पादन हुँदै

    1733

    काठमाडौं । निजी लगानीबाट आगामी आगामी आर्थिक वर्ष ०७४÷०७५ मा सोलार प्रविधिबाट मात्रै ६१ मेगावाट बिजुली उत्पादन हुने भएको छ ।

    सरकारले सोलार प्रविधिबाट बिजुली उत्पादनको प्रक्रिया अघि बढेको छ । नेपाल विद्युत प्राधिकरणले २१ सौर्य ऊर्जा उत्पादकसँग आउँदो साता बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्दैछ । पीपीए भएपछि सोलार प्रविधि जडानका लागि बाटो खुला हुनेछ । सरकारले ऊर्जा संकट कार्ययोजनाअन्र्तगत लोडसेडिङ व्यवस्थापनका लागि सोलार प्रविधिबाट बिजुली उत्पादनको तयारी गरेको हो ।

    २१ ऊर्जा कम्पनीसँग आउदो साताभित्र पीपीए हुने विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।  सोलारको बिजुलीको आधार दर तय भएकाले सोही आधारमा उनीहरूसँग पीपीए हुने उनले जानकारी दिए । यसअघि विद्युत् प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ६० पैसा खरिद दर निर्धारण गरेपनि प्रतिस्पर्धा गर्दा निजी उत्पादकले ८ रुपैयाँ ४५ पैसासम्म बिजुली बेच्ने प्रस्ताव गरेका छन् । सोलारको नमुना पीपीए सञ्चालक समितिमा पेश भइसकेको जानकारी दिँदै अधिकारीले भने “पास हुन साथ पीपीएको प्रक्रिया अघि बढ्ने छ । एक साताभित्र सोलारको पीपीए सम्पन्न हुने छ ।”

    सोलार प्रविधि दुहवी, बुटवल, कावासोतीलगायत २१ स्थानमा जडान हुने भएका छन् । सोलाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ । काम सुरु गरेको ६ महिनामा जडान भइ विद्युत उत्पादन हुने उनको भनाइ छ ।

    यता विश्व बैंकको सहयोगमा २५ मेगावाट सोलार प्रविधिबाट बिजुली उत्पादन गर्ने योजना अलपत्र परेको छ । ४ बर्ष बितिसक्दा पनि बोलपत्रमा लफडा आएपछि विद्युत् प्राधिकरणले भरखरै निर्माण व्यवसायी छनौट गरेको छ । सरकारले आगामी आवमा जलविद्युत र सोलारबाट गरी थप ८ सय मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।

    आगामी आवभित्र विद्युत उत्पादन ८ सय मेगावाट थप भई कुल जडित क्षमता १ हजार ७६१ मेगावाट पु¥याउने सरकारको योजना छ । हालसम्म विद्युत उत्पादन ९६१ मेगावाट पुगेको छ । चालु आवमा विद्युत उत्पादन जडित क्षमता १ हजार मेगावाट नाघने भएको छ ।

    सरकारले आगामी आवमा जलविद्युत कार्यक्रम कार्यान्वयनका लागि ६२ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले आगामी आवमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न हुने लक्ष्य लिएको छ । तामाकोसीका लागि सरकारले ५० करोड रुपैयाँ बजेट विनियोजन  गरेको छ । तामाकोसीमा केही महिना ढिलाइ भएपनि ०७५को चैतसम्म सम्पन्न हुनेछ ।

    यस्तै नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी पनि आगामी आवमा सम्पन्न हुदै छन् । यी दुवै आयोजना ६ महिनाभित्र सम्पन्न हुने विद्युत प्राधिकरणले जनाएको छ । निजी क्षेत्रबाट जलविद्युत र सोलार प्रविधिबाट गरी कुल २६२ मेगावाट बिजुली उत्पादन हँुदै छ । जसअनुसार जलविद्युतबाट २०१ र सोलार प्रविधिबाट ६१ मेगावाट बिजुली उत्पादन हुने अनुमानका अनुमानका आधारमा सरकारले आगामी वर्ष महत्वकांक्षी लक्ष्य तय गरेको हो ।

    आगामी आवमा ६ सय किलोमिटर लामो  विभिन्न क्षमताका प्रसारणलाइन निर्माण गर्ने लक्ष्य लिएको छ । विद्युत् चुहावट २ प्रतिशत घटाएर २३ प्रतिशतमा झार्ने, विद्युत प्राप्त गर्ने घरधुरी ५ हजार थप भई डेढ लाख धुरी पु¥याउने सरकारको योजना छ । यस्तै विद्युत प्राप्त जनसंख्य १ प्रतिशत बढेर ६९ प्रतिशत, प्रतिव्यक्ति विद्युत खपत ५ युनिट बढेर वार्षिक १५६ युनिट पुग्ने लक्ष्य लिएको छ ।

    सरकारले उज्यालो नेपाल अन्र्तगत आगामी ७ वर्षमा १७ हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । सरकारले बजेटमा लिएको यो नयाँ लक्ष्य हो । नेपाली सेना, प्रहरी, निजामति कर्मचारीको लगानीमा ५ सय मेगावाट क्षमतको जलविद्युत आयोजनाको निर्माण अघि बढाउने भएको छ ।

    विद्युत चुहावट र चोरी नियन्त्रण गर्न आगामी वर्षदेखि काठमाडौं उपत्यकामा भूमिगत विद्युत वितरण प्रणालीको काम सुरु हुने भएको छ । यस्तै स्मार्ट मिटर र स्मार्ट ग्रीडको काम पनि अघि बढ्ने भएको छ ।

    स्रोत:बाह्रखरी