५४ मेगावाटको मध्यतमोर आयोजना बनाउन सानिमालाई लाइसेन्स, ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य

    1429

    काठमाडौं । गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युतबाट उत्पादन गर्न अनुमति (लाइसेन्स) पाएको छ ।

    विद्युत विकास विभागले प्रवद्र्धक तमोर सानिमालाई ३५ वर्षका लागि लाइसेन्स दिएको हो । तमोरको लाइसेन्स अवधि वि.सं. २१०९ सालसम्म छ । आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने सानिमामाई हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको जानकारी दिए । हाल आयोजनाका लागि लगानी जुटाउन बैंकसँग छलफल भइरहेको श्रेष्ठले बताए ।

    सानिमा समूहले अर्को २८ मेगावाटको तल्लोलिखु आयोजनाको प्रारम्भीक काम सुरु गरेको छ । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडले तल्लो लिखु आयोजना निर्माण गर्नेछ । यो आयोजना बनाउन कम्पनीले लाइसेन्स पाइसकेको छ । विद्युत प्राधिकरणसँग पीपीए भइसकेको छ । लगानी जुटाउन  बैंकसंग छलफल भइरहेको उनले बताए । संभवत लक्ष्मी बैंकको अगुवाईमा सहवित्तीयकरणमा लगानी हुने भएको छ । यो आयोजना पनि आउँदो सन् २०२२ मा सम्पन्न गर्ने प्रवद्र्धकको लक्ष्य छ ।

    हकप्रद सेयर निष्कासन गर्दै 
    ८२ मेगावाटका दुई आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउन सानिमामाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निश्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पर्खिरहेको सीईओ श्रेष्ठले जानकारी दिए ।

    २८ मेगावाटको तल्लोलिखु र ५४ मेगावाटको मध्यतमोर आयोजना बनाउनका लागि १ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हकप्रद सेयर निश्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड ५० लाख रुपैयाँ पुग्ने छ । हकप्रद सेयरवापत प्राप्त रकम दुई आयोजना निर्माणमा लगानी गर्ने तयारी  हाल कम्पनीको चुक्तापुंजी १ अर्ब ५ करोड रुपैयाँ छ ।

    सानिमाले २२ मेगावाटको माई, ७ मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजना निर्माण गरिसकेको ३१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

    स्रोत:बाह्रखरी