‘लोडशेडिङ गर्नुपर्ने अवस्था छैन’

    1123

    काठमाडौं । लोडशेडिङ अन्त्यको अभियानमा लागेको नेपाल विद्युत् प्राधिकरणले अवस्था सहज बन्दै गएको बताएको छ । बेलाबेलामा भइरहेको वर्षात्का कारण नदीमा पानी बढ्नुका साथै भारतबाट भइरहेको विद्युत् आपूर्तिले पनि थप विद्युत् कटौतीको समस्या नआएको हो ।

    गएको असोज महीनादेखि लोडशेडिङ हटाउने अभियानमा लागेको प्राधिकरणले हाल काठमाडौं उपत्यका, पोखरा र चितवनलाई लोडशेडिङमुक्त गरेको छ । यसका साथै देशका अन्य क्षेत्रमा पनि चरम मात्रामा रहेको लोडशेडिङ दैनिक केही घण्टामा सीमित गरिएको छ ।

    पछिल्ला दिनमा बेलाबेलामा लाइन जाने समस्या भइरहेका कारण जनमानसमा परेको लोडशेडिङ फेरि शुरू भएको हो कि भन्ने आशङ्काका विषयमा प्रश्न गर्दा त्यसो नभएको प्राधिकरणले बताएको छ । ‘अहिले लोडशेडिङ गर्नुपर्ने अवस्था छैन’, प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठ भन्छन्, ‘लोडशेडिङले नभई हुरी बतासका कारण बेला–बेलामा लाइन जाने र आउने भएको हो ।’ अविछिन्न रूपमा बिजुली पाइरहेका बेला एकै दिनमा पनि धेरै पटक लाइन जाने समस्याले सर्वसाधारणमा यस्तो आशङ्का उब्जिनु स्वाभाविक पनि हो ।

    हाल सामान्यतया दैनिक उच्च विद्युत् माग १ हजार ३ सय देखि १ हजार ३ सय ३० मेगावाटसम्म रहेको श्रेष्ठले बताए, जसलाई धान्न प्राधिकरणसँग कुल ९ सय ५० मेगावाट विद्युत् रहेको छ । यसमा ३ सय ५० मेगावाट प्राधिकरणको, २ सय ४० मेगावाट स्वतन्त्र ऊर्जा उत्पादकको र ३ सय ६० मेगावाट भारतबाट आयातित विद्युत् रहेको छ । माग र आपूर्तिबीचको सन्तुलन मिलाउन प्राधिकरणले उद्योगका साथै देशका विभिन्न क्षेत्रमा विद्युत् कटौती गर्दै आएको छ । विद्युत् माग उच्च रहने समयमा उद्योगको विद्युत् ४ देखि ६ घण्टा कटौती गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

    हुरी बतास आउँदा किन जान्छ बिजुली ?
    हाम्रो विद्युत् प्रवाह प्रणाली पोलका टाँगिएका तारका माध्यमबाट हुँदै आएको छ । चाहे उत्पादन गृहदेखि सबस्टेसनसम्म होस् चाहे प्रमुख प्रसारण लाइनहरू हुन् वा घर–घरमा गरिएको वितरण नै किन नहोस्, सबै पोलमा टाँगिएका तारबाटै हुँदै आएका छन् । ठूला प्रसारण लाइन भएका क्षेत्र (खासगरी वन) मा हावाहुरीका कारण रुख ढल्ने, हाँगा खस्ने जस्ता कारणले विद्युत् प्रवाहमा क्षति पुगिरहेको हुन्छ । वस्तीभित्रै पनि रुखबाट तार तथा पोलमा असर पुग्न गई बिजुली जाने समस्या धेरै नै हुन्छ । हावाहुरीसँगै पर्ने पानीले इन्सुलेटरहरूमा क्षति पुग्न गई तार चुँडिएर खस्ने पनि हुन सक्छ ।

    हावाहुरीबाट विद्युत् आपूर्तिमा पुग्ने अवरोध अन्त्यको एक मात्र उपाय भनेको भूमिगत विद्युत् प्रणालीको विकास नै हो । यसको प्रारम्भ राजधानीको रत्नपार्क तथा महाराजगञ्ज क्षेत्रबाट हुन लागेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । भूमिगत विद्युत् वितरण प्रणालीको विकास सँगसँगै हामी स्मार्ट ग्रीडको अवधारणा लिएर अघि बढ्दै छौं,’ अधिकारीले भने ।

    दुर्गा लामिछाने

    स्रोत:अभियान