जलविद्युत्मा नेपाली बैंकहरूको अहिलेसम्मकै ठूलो लगानी

    1572

    ८६ मेगावाटको सोलुखोला दूधकोसी आयोजनामा नेपाली बैंकको ८ अर्ब ६५ करोड लगानी

    ५० मेगावाटसम्ममा जलविद्युत् आयोजनामा लगानी गर्दै आएका नेपालका बैंक तथा वित्तीय संस्थाले ८६ मेगावाटको आयोजनामा लगानी गरेका छन् । ११ बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरण (कन्र्सोटियम)मा हाइड्रो भेन्चर प्रालिले निर्माण गर्न लागेको ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा ८ अर्ब ६५ करोड रुपैयाँ ऋण दिने प्रतिबद्धता जनाएका छन् । यससँगै आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भएको छ । हाइड्रो भेन्चरमा साहस ऊर्जाको शतप्रतिशत लगानी छ । नेपालमा निजी क्षेत्रद्वारा प्रवद्र्धित र स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानीमा निर्माण हुन लागेको हालसम्मकै ठूलो आयोजना हो । ‘जलविद्युत् क्षेत्रमा स्वदेशी बैंकको अहिलेसम्मकै ठूलो लगानी हो,’ कन्र्सोटियमको अगुवाइ गरेको नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले भने, ‘ठूला आयोजनामा लगानी गर्न नेपालका बैंक तथा वित्तीय संस्था सक्षम बन्दै गएको यो एउटा उदाहरण हो ।’

    sss

    राजधानीमा बिहीबार भएको कार्यक्रममा आयोजनाको प्रवद्र्धक कम्पनी र बैंक तथा वित्तीय संस्थाबीच ऋण सम्झौता भएको छ । ११ अर्ब ८६ करोड रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) अनुमानित लागत रहेको आयोजनामा ३ अर्ब २१ करोड सेयरधनी (इक्विटी)बाट लगानी हुने कम्पनीले जनाएको छ । आयोजनामा ऋण र इक्विटीको हिस्सा क्रमशः ७३ र २७ प्रतिशत छ । आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रुपैयाँ छ ।

    आयोजनाको निर्माण करिब ४ वर्षमा सकिने कम्पनीका प्रबन्ध निर्देशक हिम पाठकले बताए । ‘निर्माणअघिका सबै प्रक्रिया सम्पन्न गरी आगामी मंसिरबाट निर्माण सुरु गर्नेछौँ, पाठकले भने, ‘०७६ चैतभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिई काम अगाडि बढाइएको छ ।’ सोलुखुम्बुको कागेल, तिङ्ला र पञ्चन गाविसमा निर्माण हुने आयोजनाको बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सोलु करिडोरमार्फत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । आयोजनाले साढे १० किलोमिटर प्रसारण लाइन आफैँ निर्माण गर्नुपर्नेछ ।

    स्रोत : नयाँ पत्रिका