अपरमादी जलविद्युत् आयोजना पूरा

    1156

    मंसिर ११, २०७३- २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाले एक महिनाभित्र पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन गर्ने जनाएको छ । आयोजनाले परीक्षण उत्पादन गरिरहेको छ । निर्माणको काम पूरा भएसँगै उपकरण परीक्षणको काम पनि सकिएको छ । दुई सातासम्म गरिएको परीक्षणमा खराबी नदेखिएको आयोजनाले जनाएको छ ।

    ‘जेनेरेटर, टर्बाइन र ट्रान्सफर्मरलगायत उपकरण परीक्षण सफल भएको छ,’ आयोजना कोअर्डिनेटर राजकुमार बरालले भने । आयोजनाले शुक्रबारदेखि ४८ घन्टासम्म चार्जिङको काम थालेको छ ।
    साढे १० किलोमिटर टाढाको लेखनाथस्थित विद्युत् प्राधिकरणको सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युत्गृहमा पुर्‍याई चार्जिङ गर्न लागिएको बरालले बताए । प्रसारण लाइनका ३२ वटा टावरमा विद्युत् चुहावट भए/नभएको परीक्षण हुनेछ ।

    पावरहाउसभित्रका कन्ट्रोल प्यानल र ट्रान्सफर्मरलगायत उपकरण चार्जिङ गरिनेछ । ‘चार्जिङ समयमा कतै विद्युत् चुहावट भएमा वा कुनै खराबी देखिएमा मर्मत गर्ने र नभए सुरुङमा पानी हालेर उत्पादन परीक्षण थालिनेछ,’ उनले भने, ‘अब एक महिनाभित्र पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन हुनेछ ।’ विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका फ्रान्सिस टर्वाइन जडान गरिएको छ । चार हजार दुई सय मिटर लामो सुरुङमा मादी खोलाको पानी ल्याएर १ सय १६ मिटर पेनस्टक पाइपमार्फत बिजुली उत्पादन गरिनेछ । आयोजनाले यसअघि सयजनाभन्दा बढी कामदार राखेर काम गर्दै आएकामा हाल ७० जना मात्रै छन् ।

    आयोजनामा दुईपटक पहिरो गएर काममा केही समस्या आएको थियो । आयोजना गत अप्रिलमा सकिनुपर्ने भए पनि भूकम्प, नाकाबन्दी र मादीमा आएको बाढीले पनि काममा केही ढिलाइ भएको हो । सुरुमा ५ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने भनिएकामा बढेर ६ अर्ब ६० करोड पुगेको आयोजनाका निर्देशक विजयबाबु मल्लले बताए ।

    मादी पावर प्रालिअन्तर्गतको आयोजनामा मल्लको २० प्रतिशत र चीनको चाइना थ्री गर्जेज कर्पोरेसनसँग आबद्ध चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) को ८० प्रतिशत लगानी छ । आयोजना २०६९ पुस १३ बाट चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले निर्माण सुरु गरेको थियो ।

    Source: The Kantipur Post