मध्य दरमखोला ए र वी साना जलविद्युत आयोजनाको विधुत खरिद विक्री सम्झौता

2153

बागलुङ, २८ चैत । बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ । ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विधुत उत्पादन गरी वितरण गर्ने गरी नेपाल विधुत प्राधिकरण र धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इन्जियनियरीङ(धौलागिरी सेम) प्रालि बागलुङविच मंगलवार विधुत खरिद विक्री सम्बन्धी सम्झौताा (पिपिए) भएको हो ।

धौलागिरी सेम प्रालिद्वारा प्रवद्र्धित मध्य दरमखोला ए साना जलविद्युत आयोजना (३ मेगावाट) र मध्य दरमखोला वी साना जलविद्युत आयोजना (४.५मेगावाट) र नेपाल विधुत प्राधिकरण बीच विद्युत खरिद विक्री सम्झौता भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सम्झौता पत्रमा नेपाल विधुत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र धौलागिरी सेम प्रालिका अध्यक्ष हरिनारायण गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रवद्र्धक कम्पनी धौलागिरी सेम प्रालिले दुवै आयोजनाबाट वि.सं.२०७८ जेठ ३१ सम्ममा विद्युत उत्पादन गरी नेपाल विधुत प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ए (३ मेगावाट) को ब्यापारिक विधुत उत्पादन मिति वि.सं.२०७७ चैत ३१ र मध्य दरमखोला वि (४.५ मेगावाट)को विद्युत उत्पादन मिति वि.सं.२०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बैंकको ऋण सहयोगमा समपन्न गरिने छ । दुवै आयोजनाको पिपिए टेक अर पे को नीतिमा गरिएको अध्यक्ष गौतमले वताए ।

दुवै आयोजनाबाट उत्पादित विधुतलाई नेपाल विधुत प्राधिकरणले सुख्खा याम (पौषदेखि चैतसम्म) मा प्रति युनिट ८ रुपैयाँ ४० पैसा देखि १० रुपैयाँ ४२ पैसामा खरिद गर्नेछ । बर्षायाम (बैशाखदेखि मंसिरसम्म) मा प्रति युनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसासम्ममा खरिद गर्नेछ । दुवै आयोजनाबाट बार्षिक ४ करोड ४५ लाख १३ हजार २ सय ६९ यूनिट विद्युत उत्पादन हुनेछ ।

 

स्रोत : हटलाइनखबर