त्रिशूली–काठमाडौं प्रसारण लाइनका लागि तार तान्न सुरु

    1096

    नुवाकोट — निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनका लागि तार तान्ने काम सुरु भएको छ । लिखुगाउँपालिका ३ सूर्यमतीदेखि चतुराले र धादिङको छत्रेदेउरालीमा ४/५ किमि क्षेत्रमा तार तान्ने काम भइरहेको त्रिशूली ३ ए का आयोजना प्रमुख फणीन्द्रराज जोशीले बताए ।

    उक्त क्षेत्रमा पर्ने १७ वटा खम्बामा काम अघि बढाएको आयोजनाले जनाएको छ । आयोजनाले पहिलो चरणमा कात्तिक दोस्रो सातादेखि विद्युतीय तार विस्तारको कार्य थालेको हो । ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) का चिनियाँ प्राविधिकहरूले कार्यक्षेत्रमा काम गरिरहेको आयोजनाले जनाएको छ ।कम्पनीले सूर्यमतीको पाण्डेगाउँ, ककनीको लामागााउँ र धादिङको छत्रेदेउरालीमा उपकरणको सहायताले र प्राविधिकमार्फत काम भइरहेको छ । ०६८ फागुन १४ गतेदेखि २२० केभी प्रसारण लाइनले टावर गाँड्न फाउन्डेसन खन्ने कार्य थालेको थियो । ‘शान्तिबजारमा ६ वटा टावरको फाउन्डेसन बनाउने हो,’ आयोजना प्रमुख जोशीले भने, ‘एउटा टावरको फाउन्डेसन बनाउन बाँकी छ ।’ १ सय ३५ वटा टावरको फाउन्डेसन कार्य सकिएको छ । माथिल्लो त्रिशूली ३ बी हबमा एउटा टावर अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

    २२० केभीको डबल सर्किट प्रसारण लाइनमा १ सय ४० वटा टावर पर्छन् । केही ठाउँमा अवरोध भए पनि स्थानीयबासीसँग समन्वय गरेर कार्य अघि बढिरहेको उनले बताए । प्रसारण लाइन निर्माणमा स्थानीयवासीको अवरोध, मुआब्जा निर्धारणमा ढिलाइ र सामुदायिक वनक्षेत्रमा देखिएको समस्या समाधान गर्दै काम अघि बढेको आयोजनाले जनाएको छ ।

    निर्धारित मितिमा प्रसारण लाइन पूरा गर्न आयोजना लागिपरेको उनले बताए । आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमाजोड्नका लागि विद्युत् प्रसारण लाइन निर्माण कार्यलाई ठेकेदारलाई भनिरहेको आयोजनाले जनाएको छ । प्रसारण लाइन निर्माणको कार्य डिसेम्बर अन्तिममा सिध्याउन ठेकेदार कम्पनी सिडब्लुईलाई भनिएको आयोजनाले जनाएको छ ।

    ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए आयोजनाले आगामी २०१९ फेब्रुअरी ९ मा पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादन परीक्षण गर्ने जनाएको छ । त्यसअघि त्रिशूली–काठमाडौं प्रसारण लाइन पूरा गर्नुपर्ने बाध्यता छ । नुवाकोट र रसुवामा उत्पादित नौ सय मेगावाट बिजुली ४५ किमि टाढा रहेको काठमाडौं मातातीर्थमा जोडिएर केन्द्रीय प्रसारणमा जोडिने छ ।

    मातातीर्थमा १ किमिभन्दा बढी भूमिगत तार बिछ्याइने भएको छ । यही प्रसारण लाइनमार्फत नुवाकोट र रसुवाका निर्माणाधीन रसुवागढी, माथिल्लो सान्जेन, तल्लो सान्जेन, माथिल्लो त्रिशूली १, त्रिशूली ३ बी, मध्यत्रिशूली गंगा, गल्छी–त्रिशूलीबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिने छन्
    स्रोत:कान्तिपुर