दाना–खुर्कोट प्रसारण लाइन निर्माण तीव्र

    1570

    बेनी : कालीगण्डकी कोरिडोर अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको तार तान्न सुरु भएको छ। विद्युत् प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि दाना र खुर्कोटमा सवस्टेसन तथा प्रसारण लाइन निर्माणलाई तीव्रता दिएको छ।

    ३९ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गत निर्माण भएका टावरमा तार तान्ने काम सुरु गरिएको आयोजनाका प्राविधिक सहायक लक्ष्मण फुयाँलले जानकारी दिए। ‘मिलनचोक क्षेत्रमा ५ सय मिटर तार तानीसकेको छ’, फुयाँलले भने, ‘छठ लगत्तै तिप्ल्याङ क्षेत्रमा पनि तार तान्ने तयारी गरेको छ।’ ११४ वटा टावर बनाउनुपर्नेमा हालसम्म ८१ वटा सम्पन्न र ४ वटा निर्माणाधीन अवस्थामा छन्। अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सवस्टेसन पनि निर्माण भइरहेको छ।

    एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गत सन् २०१६ मा दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सब स्टेसन निर्माण गर्न २ अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो। सब स्टेसनको पूर्वाधार र प्रसारण लाइनको टावर निर्माणसँंगै इलेक्ट्रोनिक उपकरण ढुवानीलाई तीव्रता दिएपनि २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य पूरा नहुने भएको छ।

    निर्माण अवधि केही समय पछि धकेलिने भएको छ। हालसम्म सत्तरी प्रतिशत भन्दा बढी प्रगति भएको आयोजनाले जनाएको छ। कालीगण्डकी र आसपासका सहायक नदीहरुमा निर्माणाधीन जलविद्युत् अयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न सब स्टेसन र प्रसारण लाइन निर्माण गर्न लागिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनका आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए। ‘खुर्कोटदेखि नवलपरासीको बर्दाघाटसम्म दोस्रो चरणमा प्रसारण लाइनको पूर्वाधार बनाउने तयारी भइरहेको छ’, आयोजना प्रमुख घोषले भने।

    मुस्ताङमा १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट निर्माणाधीन छन्।

    रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण सुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, अपर र तल्लो कालीगण्डकी, तिप्ल्याङ कालीगण्डकी आयोजनाले काम सुरु गर्ने तयारी गरेका छन्।

     

     

    सन्तोश गौतम

    स्रोत:अन्नपूर्ण पोस्ट