दोर्दीमा बाढीः बगाएर शव भेटिएका ४ मध्ये ३ जनाको पहिचान, ७ अझै बेपत्ता

1320

श्रावण ९, २०७६

लमजुङ — दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएका ४ जनामध्ये ३ जनाको सनाखत भएको प्रहरीले बताएको छ । पुरै ठेगाना भने खुल्न बाँकी छ ।

दोर्दी गाउँपालिका ४, नौथर शेरामा भेटिएका २ जनाको शवमध्ये १ जना पर्सा जिल्लाका अन्दाजी २८/३० वर्षीय शिवधन चौधरी रहेका छन् ।

यस्तै, शेराभन्दा अलि माथि भेटिएका एकजना सप्तरी जिल्ला सप्तकोशी नगरपालिका ८ का अन्दाजी ५० वर्षीय भुवनेश्वर चौधरी रहेका छन् । कीर्तिपुर बेंसीमा भेटिएका १ जना डडेल्धुराको आलेताल गाउँपालिका ६ का अन्दाजी ३४/३५ बर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बसन्त पाण्डेले बताए ।

दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको डिसेन्डर बनाउँदै गरेका कामदारलाई दोर्दीको बाढीले बगाएको प्रहरीले बताएको छ । बगाएर ल्याएको शवलाई निर्माणस्थलबाट करिब ८ किलोमिटर तल नौथर शेरामा २ शव, ७ किलोमिटर तल शेरा नजिकै एउटा र ४ किलोमिटर तल कीर्तिपुर बेंसीमा एउटा शव भेटिएको थियो । एकजनाको शव चिनिन सक्ने अवस्थाको नरहेको प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ७ जना बेपत्ता छन् । उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । बेपत्ताको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन् ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बेपत्ताको खोजीखार्य भइरहेको बताए । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक लिबर्टी इनर्जी कम्पनीका संचालक राजेन्द्र वस्तीले बाढीले धनजनको क्षति पुर्‍याएको बताए ।

दोर्दीखोलाको मुहानतिर पहिरो गएर थुनिन गई एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । तर, यसको कारण यही हो भनेर पत्ता लगाउन नसकिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

स्रोत:कान्तिपुर