नेपाल–भारत पावर कमिटिको बैठक भारतमा

    1504

    इनर्जी बैंकिङको विषयमा छलफल गर्ने, घिसिङ आजै भारत जाँदै

    पुस १०, २०७५ – नेपाल–भारत पावर कमिटिको बैठकमा नेपाली टोलीले इनर्जी बैंकिङको विषयमा बृहत छलफल गर्ने भएको छ ।  बैठकमा भाग लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज भारत जाँदै हुनुहुन्छ ।  हाल नेपालमा सानो परिमाणको इनर्जी बैंकिङ कार्यान्वयन भए पनि यसै बैठकमार्फत थप ठूलो परिमाणको लागि छलफल गरि ठोस निष्कर्षमा पुग्न आग्रह गर्ने तयारी नेपाली पक्षको छ ।

    आजै भारतीय पक्षसँग अनौपचारिक छलफलमा सहभागि हुने र भोलि हुने औपचारिक बैठकमा छलफल गर्ने घिसिङले बताउनुभयो । विशेषत बर्खायाममा नेपालले भारतलाई बिजुली दिने र त्यति नै बिजुली हिउँदमा नेपाल ल्याउनको लागि इनर्जी बैंकिङको अवधारणा ल्याइएको हो । बैठकका निष्कर्षलाई यसै महिना नेपालमा हुने भनिएको उर्जा सचिवस्तरीय बैठकमा पेश गर्ने दुवै पक्षको तयारी रहेको छ । सचिवस्तरीय बैठकमा इनर्जी बैंकिङको सम्झौता  गर्ने तयारी सरकारको छ ।

     

    स्रोत:कान्तिपुर