विदेशी लगानीका उद्योगमा पनि नेपालभित्रै ऋण उठाउने प्रवृत्ति

1149

असार १६, २०७६

होङ्सी शिवम् सिमेन्ट र अरुण तेस्रो जलविद्युत आयोजना दुवै प्रत्यक्ष वैदेशिक लगानीका उद्योग र आयोजना हुन् । तर यी दुवै आयोजनाले लगानीका लागि नेपालकै बैंकबाट ऋण लिएका छन् । चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्टमा अहिलेसम्म ३६ अर्ब  लगानी भएको छ र त्यसमध्ये १६ अर्ब रुपैयाँ पाँच वटा नेपाली बैंकबाट लिएको ऋण हो । यस उद्योगमा एनएमबी बैंकले सबैभन्दा धेरै ६ अर्ब ७५ करोड लगानी गरेको छ ।

भारतीय सरकारी कम्पनी सतलज जलविवद्युत निगमले निर्माण गरिरहेको ९ सय  मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाले पनि नेपाली बैंकबाट करिब १३ अर्ब रुपैयाँ ऋण लिएको छ । विदेशी लगानी भन्ने तर नेपालमै रकमको जोहो गर्ने यो प्रवृत्ति किन त ? विदेशबाट डलरमा आउने ऋणका लागि यहाँ हेजिङ सुविधा छैन । नेपालको क्रेडिट रेटिङ नभएकाले विदेशी बैंकले यहाँ लगानी गर्न पनि जोखिम मान्छन् ।

भारत र चीनमा भन्दा यहीँ नै सहजै पुँजी उपलब्ध हुने र ब्याजदर समेत सस्तो भएको फाइदा विदेशी लगानीका उद्योग र आयोजनाले लिएका हुन् ।

प्रत्यक्ष वैदेशिक  लगानीकै उद्योग र आयोजनाले नेपाली बैंकबाट ऋण लिंदा एकातिर बजारमा तरलता अभाव हुनेछ र यो भइरहेको पनि छ ।

अर्कातिर साना व्यवसायीलाई लगानी विस्तार गर्न समस्या हुन्छ । नेपालकै लगानीमा  विदेशी उद्योग र आयोजनाले कमाउने तर मुनाफा भने विदेश लैजान पाउने यस्तो व्यवस्थाको  प्रत्यक्ष असर अर्थतन्त्रमा पर्न जान्छ । त्यसैले विदेशी लगानीका उद्यमले नेपालमा रकम जुटाउन पाउने सुविधाको छिद्रबारे तत्काल ध्यान दिनु आवश्यक छ ।

 

स्रोत:कान्तिपुर