ठेउलेखोला जलविद्युत् आयोजना सम्पन्न

    2089

    जिल्लाको दक्षिण कुश्मिसेरामा निर्माणाधीन साढे एक मेगावाट क्षमताको ठेउलेखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको छ । उक्त आयोजना करिब ३३ करोड रुपैयाँको लागतमा सम्पन्न भएको जलविद्युत् आयोजना निर्माण कम्पनी बाराही हाइड्रोपावर प्रालिले जनाएको छ ।
    जैमिनी नगरपालिकाको कुश्मिसेरामा सञ्चालित आयोजनाको २०७१ साल मंसिरबाट निर्माण सुरु भए पनि भूकम्प र नाकाबन्दीका कारण ढिलाइ भएको आजोजनाले जनाएको छ । भूकम्पले आयोजनामा कुनै क्षति नपु¥याए पनि कामदार अभावका कारण एक वर्ष लम्बिएको हो । आयोजनाको काम सम्पन्न भएसँगै विद्युत् उत्पादन परीक्षणसमेत सफल भएको आयोजनाका इन्जिनियर सूर्य अधिकारीले बताए । २६ करोड ५० लाखको लागतमा निर्माण गर्ने गरी काम सुरु भएको आयोजनाको खर्च भने काम सम्पन्न भैसक्दासम्म ३३ करोडबाट उकालो लागेको छ । २०७० सालमा विद्युत् आयोजना निर्माणको योजना बनाउँदा २६ करोड ५० लाख लागत अनुमान गरिएकोमा विनासकारी भूकम्प र नाकाबन्दीका बेला काम रोकिँदा काम गर्ने समय बढेको, नाकाबन्दीका बेला महँगो दरमा निर्माण सामग्री मूल्य बढेकाले आयोजना निर्माण सम्पन्न गर्न ३३ करोडभन्दा बढी रकम खर्च लागेको अधिकारीले जानकारी दिए ।
    बाराही हाइड्रोपावर प्रालिले निर्माणको जिम्मा लिएको उक्त आयोजनाले पावरहाउस निर्माण, सबस्टेसन निर्माण, पाइपलाइन बिच्छाउने कामलगायत प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण गर्ने काम सकिएको आयोजनाले जनाएको छ । “आयोजना प्रभावित क्षेत्रमा जग्गा पर्नेलाई करिब ९० करोड बढी मुआब्जा वितरण गरिसकेका छौं,” अधिकारीले भने, “केही जग्गामा मुआब्जा वितरणको काम बाँकी रहेकाले केही समयपछि सम्पन्न गरी नियमित विद्युत् उत्पादनको काम अगाडि बढाउने योजना बनाएका छौं ।”
    आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्नका लागि जैमिनी नगरपालिका–१ को कुश्मिसेरामा सबस्टेसन निर्माण गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । उक्त आयोजना निर्माणपछि बागलुङ नगरपालिकाको केही भाग, जैमिनी नगरपालिका र बेरङ गाउँपालिकामा विद्युत् विस्तारमा सहजता हुने जनाइएको छ । सर्कुवा र कुश्मिसेराको सिमानामा बाँध, बिनामारेको मसिना पुलनजिकै पावर हाउस निर्माण र कुश्मिसेराको टुनीबोटमा प्रसारणलाइन तयार गरिएको छ । आयोजनाले कुश्मिशेरामा निर्माण गरेको बाँधदेखि पावरहाउससम्म पाइपलाइनमार्फत पानी पु¥याउने व्यवस्था मिलाएको इन्जिनियर अधिकारीले बताए ।
    एउटै खोलाबाट आठवटा लघुजलविद्युत् आयोजना निर्माणपछि ठेउले खोलालाई ऊर्जाखोला नामकरण गरिएको छ । आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद गर्ने सम्झौता भइसकेको विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । “आयोजना र केन्द्रबीच २०६६ सालमा नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद गर्ने सम्झौता भइसकेको छ,” अधिकारीले भने, “सम्झौताअनुसार ३० वर्षसम्म विद्युत् प्राधिकरणलाई उत्पादित बिजुली बिक्री गरिने छ ।” उत्पादिन विद्युत कुश्मिसेराको टुनीबोटमा प्रसारणलाइन जोडिन छ । उक्त जलविद्युत् आयोजनामा कुल लागत रकममध्ये ४० जना स्थानीयबासीको २५ हजारदेखि ५ लाखसम्मको गरी झण्डै ४० लाख रुपैँयाको स्वपुँजी रहेको बताइएको छ ।

    : त्रिलोचन रिजाल ~कारोबार