माथिल्लो तामाकोसी विद्युत् आयोजना – प्रसारणलाइन निर्माणमा ढिलाई

    1631

    काठमाडौं, १३ मंसिर – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारणलाइन तथा सबस्टेशन निर्माणमा भएको ढिलाइले अर्बौं रुपैयाँको बिजुली खेर जाने अवस्था आएको छ ।
    प्रसारणलाइन सम्पन्न हुनुअगावै आयोजनाबाट विद्युत् उत्पादन हुने अवस्था आएपछि प्रवद्र्धक अपरता माकोसी हाइड्रोपावर लिमिटेडले अर्बो रुपैयाँ आम्दानी गुमाउन अवस्था आएको हो । कम्पनीले सन् २०१५ को मार्चमा आयोजना निर्माण गरी विद्युत् उत्पादन थाल्ने लक्ष्यका साथ सिभिल निर्माणको काममा तीव्रता दिएको छ । हालको प्रगतिको अवस्थाअनुसार निर्धारित समयमै आयोजना सम्पन्न हुने आयोजनाले जनाएको छ । सरकाले माथिल्लो तामाकोसीलाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।
    प्रसारणलाइन तथा सबस्टेसन निर्माणको बोलपत्र ढिला गरेको र प्रस्तावक कम्पनीले बोलपत्र बुझाएको तीन महिना बितिसक्दा पनि तामाकोसीको सञ्चालक समितिले निर्णय गरेको छैन । मूल्यांकन समिति तथा व्यवस्थापनले प्रस्तावको मूल्यांकन गरी अनुमोदनका लागि दसैंअघि नै सञ्चालक समितिमा पेस गरे पनि सञ्चालकहरूले चासो नदेखाएका कारण ढिलाइ भएको कम्पनीका एक अधिकारीले बताए ।
    विद्युत्गृह गंगोरदेखि खिम्ती सबस्टेसनसम्म २२० केभी क्षमताको ४७ किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने हुन्छ । पूर्वमा विद्युत् आपूर्ति गर्न यो प्रसारणलाइन निर्माण हुन लागेको हो । प्रसाणलाइन तथा सबस्टेसन निर्माणका लागि २७ महिनाको समयतालिका छुट्ट्याइएको छ । यो आयोजनाको सिभिल निर्माणको लक्ष्यभन्दा दुई महिना भन्दापछि हो । आयोजनाको सञ्चालन हुनुभन्दा कम्तीमा दुई महिनाअघि अर्थात् जनवरी २०१५ मा नै प्रसाणलाइन तथा सबस्टेसन लटको निर्माण सक्नुपर्ने हुन्छ ।
    तत्काल प्रसारणलाइनको निर्माण सुरु गरिए पनि समय अपुग भइसकेको ती अधिकारीको भनाइ छ । आयोजनाले विद्युत् उत्पादन गर्नुअघि नै प्रसारणलाइन निर्माण पूरा भइसक्नुपर्ने हुन्छ ।
    तत्कालै सञ्चालक समितिले निर्णय गरे पनि छनौट भएको कम्पनीलाई आशयपत्र र ठेकेदारबाट पर्फर्मेन्स बन्ड पेस र ठेक्का सम्झौता गर्न कम्तीमा पनि थप एक महिना लाग्ने बताउँदै ती अधिकारीले भने, “यस लटको निर्माणमा निकै ढिला भइसकेको छ ।”
    यसअघि पनि प्रसारणलाइनमा ढिलाइ हुँदा कालीगण्डकी आयोजनाको विद्युत् खेर गई प्राधिकरणलाई अर्बौं रुपैयाँ घाटा भएको थियो ।
    यस्तै प्रसारलाइन निर्माणका क्रममा स्थानीय अवरोध वा अन्य प्राकृतिक कारणले ढिलाइ हुने सम्भावना पनि त्यत्तिकै छ । बिजुली प्रवाह गर्न नपाए सिभिल, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरूका ठेकेदारहरूबाट कार्य सम्पन्न गरिसकेपछि पनि पूर्ण परिक्षण गर्न नपाउने परिस्थितिको सिर्जना हुँदा सिभिल ठेकेदारले क्षति दाबी गर्ने परिस्थिति बन्दै गएको छ ।
    मूल्यांकन समितिले सबैभन्दा कम दर कबोल गरेको भारतको केइसी इन्टरनेसनल लिमिटेडलाई सारभूत रूपमा न्यूनतम मूल्यांकित प्रस्तावदाता ठहर गरी सम्झौताका लागि सिफारिस गरेपछि दुई पटक सञ्चालक समितिको बैठक बसे पनि निर्णय हुन सकेको छैन । अर्कातिर सञ्चालकहरूले केईसीसँग थप कुरा गर्ने भनेर निर्णय नगरेको बताइएको छ ।
    आयोजना प्रमुख विज्ञान श्रेष्ठ प्रसारणलाइनको बोलपत्र आह्वानमा ढिलाइ भएको स्वीकारे । उनले जसरी भए पनि निर्धारित समयमा प्रसारणलाइन बनाउने दाबी गरे ।
    यस्तै विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले सञ्चालकहरूले थप छलफल गर्न चाहेकाले निर्णयमा ढिलाइ भएको बताउँदै चाँडै निर्णय हुने बताए ।
    लट चारअन्तर्गतको प्रसारणलाइन र सबस्टेसन निर्माण बोलपत्रमा केइसीले सबैभन्दा कम २ करोड ३७ लाख ५६ हजार अमेरिकी डलर प्रस्ताव गरेको छ । यस्तै भारतको लार्सन एन्ड टर्बो लिमिटेडले २ करोड ८० लाख ७१ हजार र सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनमी एन्ड ट्रेड कम्पनी लिमिटेडले ४ करोड ६३ लाख डलर प्रस्ताव गरेका थिए ।

    प्रस्तुति: कारोवार