यसैवर्ष १० आयोजना सम्पन्न, ११७ मेगावाट बिजुली थप

    1029

    काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म निजी लगानीबाट साना र ठुला गरी १० आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा ११७ मेगावाट बिजुली थप भएको छ ।

    सरकारले यो वर्ष १४२ देखि १५० मेगावाटसम्म बिजुली थप गर्ने लक्ष्य लिएकोमा आव सकिन डेढ महिना बाँकी हुँदा १० आयोजना सम्पन्न भई प्रणालीमा झण्डै ११७ मेगावाट बिजुली थप भएको हो ।
    लक्ष्यअनुसार अझै ३४ मेगावाट बिजुली थप हुन बाँकी छ । हालसम्म निजी लगानीमा कुल ६० आयोजना सम्पन्न भई ४४१ मेगावाट बिजुली थप भएको छ ।

    चालु आवमा हालसम्म सम्पन्न भएका आयोजनामा २ मेगावाटको झ्याडीखोला, ४.३ मेगावाटको टुङगन ठोस्ने, ५० मेगावाटको माथिल्लो मर्स्याङदी ए, ६ मेगावाटको दरौदीखोला ए, २ मेगावाटको खानीखोला, ९९६ किलोवाटको मियाखोला, २५ मेगावाटको माथिल्लो मादी, १५ मेगावाटको हेवाखोला ए, ७.६ मेगावाटको जोगमाई र ३.७ मेगावाटको द्धारीखोला आयोजना सम्पन्न भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    चालु आवमा सरकारले २ सय मेगावाट बिजुली उत्पादन थप गर्ने लक्ष्य लिए पनि १५० मेगावाट मात्र पुग्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।

    असारसम्म सम्पन्न हुने अन्य आयोजनामा २.८ मेगावाटको छ्याकेखोला, ५.१ मेगावाटको माई सी, ११.२ मेगावाटको थापाखोला, ३.२ मेगावाटको गेलुनखोला, ६ सय किलोवाटको ढुंगेजिरी, ४ मेगावाटको सर्दिखोला, ३ मेगावाटको मिदिम करापु, र ४ मेगावाटको पुवाखोला रहेका छन् । प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया आउँदो भदौ असोजमा सम्मन्न हुने छ । यस्तै १४ मेगावाटको कुलेखानी आयोजना पनि  यो वर्ष सम्पन्न नहुने भएको छ ।

    यी मध्ये २ आयोजना नेपाली र चिनियाँको संयुक्त लगानीमा बनेका हुन् । ५० मेगावाटको माथिल्लो मर्स्याङदी आयोजना चीनको सिनो हाइडो कर्पोरेशन र नेपालको सगरमाथा पावर कम्पनी प्रालिको संयुक्त लगानीमा निर्माण भएको हो । यसमा सिनोको ९० र सगरमाथाको १० प्रतिशत लगानी छ । माथिल्लो मर्स्याङदीबाट विद्युत उत्पादन सुरु भइसकेको छ । यस्तै मादीमा चाइना वाटर एन्ड इलेक्टिक कर्पोरेशन (सीडब्यूई) को ८० र २० गोरखा कन्टक्सनको छ ।

    हालसम्म २ हजार ७३१ मेगावाट क्षमताका १४३ आयोजना निर्माण भइरहेको छ । आउँदो आवमा २५० मेगावाट बिजुली थप हुने भएको छ ।

    स्रोत:बाह्रखरी