विदेशी लगानीको आकर्षण हाइड्रो र सिमेन्ट

    1919

    चार महिनामा सवा १० अर्ब रुपैयाँ विदेशी लगानी भित्रियो

    काठमाडौँ — जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । नेपालमा ती क्षेत्रको विकास तथा विस्तारको सम्भावना धेरै रहेकाले विदेशी लगानीकर्ताको आकर्षण बढेको हो ।

    पछिल्ला महिनाहरूमा मुलुक भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को ठूलो अंश जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा लगानी हुनुले पनि यो पुष्टि गर्छ । प्रशस्त सम्भावना हुँदाहुँदै अधिकांश जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको विज्ञ बताउँछन् ।
    राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिनामा १० अर्ब १७ करोड रुपैयाँ एफडीआई भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो झन्डै २ गुणा बढी हो । ०७३ कात्तिकसम्म ५ अर्ब ७१ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिँदै गएकोलगायत कारण एफडीआई बढेको हो । अघिल्लो वर्ष भएको लगानी सम्मेलनमा करिब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । वास्तविक रूपमा भित्रिएको रकमको आधारमा पनि गत आर्थिक वर्षमा लगानीकर्ताको आत्मविश्वासमा सुधार भएको पुष्टि हुन्छ ।
    चार महिनामा नेपाल भित्रिएको विदेशी लगानीमध्ये सबैभन्दा बढी होङसी शिवम् सिमेन्टमा आएको छ । उक्त कम्पनीमा ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी आएको राष्ट्र बैंकको तथ्यांक छ । यसैगरी मादी पावरमा करिब २ अर्ब र सोलु हाइड्रोमा करिब साढे १ अर्ब रुपैयाँ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा करिब ६८ करोड विदेशी लगानी आइसकेको छ । गत कात्तिकसम्म सिल्भर हेरिटेज इन्भेस्टमेन्ट र भृकुटीदेवी इनिसिएटिभमा क्रमश: ६१ करोड ६४ लाख र ५० करोड २२ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
    आर्थिक वर्ष ०७२/७३ मा ५ अर्ब ९२ करोड रुपैयाँ एफडीआई भित्रिएकामा गत आर्थिक वर्षमा बढेर १३ अर्ब ५० करोड पुगेको थियो । यो वर्षभरिको विदेशी लगानी प्रतिबद्धता करिब ९० प्रतिशत हो । उद्योग विभागको तथ्यांकअनुसार गत वर्षमा १५ अर्ब १ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । यो उद्योग विभागमा जनाइएको प्रतिबद्धता हो । जुनसुकै विदेशी लगानी आउँदा सुरुमा उद्योग विभागमा दर्ता गरेर अनुमति लिनुपर्छ । यद्यपि प्रतिबद्धता जनाइएकाबाट मात्रै रकम भित्रिएको भन्ने अवस्था हुँदैन । कुनै चलिरहेको कम्पनीमा रकम आए पनि एफडीआई शीर्षकमै देखिन्छ । तर, त्यसको प्रतिबद्धता पहिले नै भएको हुन सक्छ । यसको अर्थ यसअघिका प्रतिबद्धताको रकम पनि चरणबद्ध रूपमा आउँछ र त्यसले पनि विदेशी लगानी बढेको देखाउँछ ।
    मुलुकमा लगानी वातावरण सुध्रिँदै गएपछि लगानीकर्ताको आत्मबल बढेकाले विदेशी लगानी बढेको विज्ञहरू बताउँछन् । आउँदा दिनमा यो क्रम झनै बढ्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । ‘मुलुकमा अत्यावश्यक पूर्वाधारहरूको विकास भएको छ भने राजनीतिक अवस्था स्थिरताको चरणमा छ,’ उनले भने, ‘अब विदेशी लगानीको होड चल्छ ।’
    पछिल्ला वर्षहरूमा आर्थिक वृद्धिदर बढ्दै गएको, लगानीसम्बन्धी नीतिहरू बनेको, राजनीतिक दल तथा नेताहरूबाट आर्थिक विकासको प्रतिबद्धता आएकोलगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको बताइएको छ । एकै वर्ष तीन तहको चुनाव सम्पन्न भएको भएको, स्थिर सरकार गठनका लागि वातावरण बनेकोलगायत कारण लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य हुने देखिएको छ । यस्तो अवस्थामा मुलुकमा आर्थिक गतिविधिले प्राथमिकता पाउने, लगानी बढ्ने भएकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने जानकारहरूको भनाइ छ ।
    खासगरी जलविद्युत्, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना छ । ती क्षेत्रमा लगानी बढाउनका लागि एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरलीकरण गर्नुपर्ने उनीहरूको सुझाव छ ।
    स्रोत:कान्तिपुर