मन्त्रालयका छतमा सोलार, बचत बिजुली राष्ट्रिय प्रशारण लाइनमा

    2169

    काठमाडौं । चीन सरकारको अनुदान सहयोगमा सिंहदरबार परिसरमा जडान गरिएका सोलार प्यानलको तयारी अन्तिम चरणमा पुगेको छ ।  अबको १ महिना भित्रमा उक्त सोलार प्यानलहरु सञ्चालनमा आउने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

    “सोलार प्यानल जडानको सम्पूर्ण तयारी पुरा भएको छ,” प्रवक्ता घिमिरेले भने, “अबको १ महिनाबाट सबै सोलार प्यानलहरु सञ्चालनमा आउँछन् ।”    सन् २०१६ को सुरुमा चीन र नेपाल सरकारबीच सोलार जडानको सम्झौता भएको थियो ।

    सम्झौताअुसार २०१६ को नोभेम्बरबाट काम सुरु भएको घिमिरेले जानकारी दिए ।  हाल सिंहदरबार परिसरका १२ र सिंहदरबार बाहिरका ८ गरी जम्मा २० सरकारी भवनमा सोलार प्यानल जडान गरिएको छ ।

    सिंहदरबारभित्र वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोग, रेडियो नेपाल र गृहमन्त्रालय पछाडिका २ वटा गरी १२ वटा भवनमा सोलार प्यानल जडान गरिएको छ ।

    यस्तै सिंहदरबारबाहिर कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्थान, जिल्ला समन्वय समिति, जिल्ला अदालत, महालेखा परीक्षणको कार्यालय, लोकसेवा आयोगको कार्यालय र हुलाक सेवा विभागका भवनको छतको आकार र क्षेत्रफलअनुसार सोलार प्यानल जडान गरिएको प्रवक्ता घिमिरेले बताए ।

    चीनको चाइना न्यु एरा कन्सल्टेन्सीको प्राविधिक टोलीले जडान गरेका सोलार प्यानलमा ५ वर्षभित्र केही समस्या आए उसैले मर्मत, सम्भार गरिदिने सम्झौता भएको छ ।

    नेपालमै पहिलो प्रयोग

    ‘ग्रिड कनेक्टेड’ सिस्टमबाट यी सोलार प्यानहरु जडान गरिएका हुन् । सोलार प्यानलमा उत्पादन भएको विद्युत बचत भएजति राष्ट्रिय विद्युत प्रशारण लाइनमा जान्छ ।
    २० वटा भवनमा जडान गरिएका सोलारहरुले १ मेगावाट विद्युत उत्पादन क्षमता गर्ने घिमिरेले बताए ।

    “शनिबार र सरकारी बिदाको दिन विद्युत बचत हुन्छ,” उनले बाह्रखरीसँग भने, “बचत भएको विद्युत राष्ट्रिय विद्युत प्रशारण लाइनमा जान्छ ।”  सरकारले नवीकरणीय ऊर्जाको स्रोतलाई प्रोत्साहन गर्न व्यक्तितग लगानीमा जडान गरिएको सोलारबाट समेत विद्युत खरिद गर्ने कार्यविधि गत वर्ष नै ल्याएको तर सरकारी स्तरमा यस परिमाणको विद्युतीय ऊर्जा विद्युत प्राधिकरणमा पठाउने यो पहिलो प्रयोग भएको उनले बताए ।

    “जाडो र गर्मी मौषममा वातानुकुलित सामग्री प्रयोग गरेर हामीले विद्युत खर्च गरेका मात्रै छैनौं,” ऊर्जा मन्त्रालयका एक अधिकृतले भने, “सोलार प्यानल जोडेर विद्युतको बचत पनि गरिरहेका छौं ।”

    यस्तो प्रयोगको विस्तार अन्य कार्यालयतिर पनि गर्न सके विद्युत खरिदका लागि बाहिरिने मोटो रकम बचत गर्न सकिने ऊर्जा मन्त्रालयको भनाइ छ ।

    “यस्तो अभ्यासले नवीकरणीय ऊर्जाबाट विद्युतको उत्पादनलाई प्रोत्सहान मात्रै गर्दैन,” प्रवक्ता घिमिरेले भने, “विद्युत खरिदका लागि बाहिरिने मोटो रकमको बचतसमेत हुन्छ ।”

    स्रोत:बाह्रखरी