भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा कामदारहरूको धर्ना

1291

२२ पुष २०७५, आईतवार

सुर्खेत । निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँधस्थल चिप्लेमा कार्यरत कामदारहरूले सेवा सुविधा बढाउने माग राखेर दिनभरि काम ठप्प राखेका छन् । मुलुकको नयाँ कानून अनुसार सेवा सुविधा बढाउनुपर्ने माग राख्दै शुक्रवार कामदारले दिनभरि बाँध निर्माण स्थल (ड्याम साइट) मा काम ठप्प पारेका हुन् ।

उनीहरूले बाँधस्थलमा काम गर्न आउन–जान लाग्ने सवारी भाडा, आधारभूत पारिश्रमिक बढाउनुपर्ने, सबै कामदारलाई १२ घण्टाको ड्युटीको व्यवस्था मिलाउनुपर्ने, खाना खाने समय १ घण्टा दिइनुपर्ने, मजदूर लेवी काट्न नपाइने, कामदारको बीमा गराइनुपर्ने, प्राथमिक उपचारको व्यवस्था र भत्ता बढाइनुपर्ने लगायत १८ बँुदे माग राखेका थिए ।

मागपत्रमा ९४ जना कामदारले संयुक्त हस्ताक्षर सहितको १८ बुँदे मागपत्र आयोजना व्यवस्थापन पक्षलाई बुझाएका छन् । आयोजनाले बाँधस्थलमा काम गर्ने कामदारका लागि शुरुआती चरणमा केही कमीकमजोरी रहेको स्वीकार गर्दै छिट्टै सुधार गर्ने बताएको छ । प्रतिबद्धतापछि कामदारले काम पुनः सुचारु गरेको बताइएको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर श्रीप्रसाद साहले कामदारले राखेका अधिकांश माग तत्कालै पूरा गर्न सकिने भएकाले वार्तापछि काम पुनः सुचारु भइसकेको जानकारी दिए । उनले सामान्य खालका मागका लागि कामदारले आन्दोलन नै गर्नुपर्ने स्थिति नरहेको बताए । उनका अनुसार पहिलो सिफ्टको काममा बाधा पुगे पनि दोस्रो सिफ्टमा काम सुचारु भइसकेको छ ।

राष्ट्रिय गौरवको बहुचर्चित भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम र केही दिन पहिलेदेखि बाँध स्थल निर्माण शुरू भएको छ । आयोजनामा सुरुङ (टनेल) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म करीब ११ हजार मिटर खनिसकिएको र आगामी चैतमा ‘ब्रेक–थू्र’ (निर्माण सम्पन्न) हुने आयोजनाको भनाइ छ ।

 

स्रोत:अभियान