खिम्तीका दुवै आयोजनाको काम अन्तिम चरणमा

    1021

    रामेछाप-रामेछापको गोकुलगंगा गाउँपालिकास्थित वडा नं १ को गर्जाङमा निर्माणाधीन २ वटा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हिमालय ऊर्जा विकास कम्पनीद्वारा निर्माण भइरहेका उपल्लो खिम्ती १२ मेगावाट र अपर खिम्ती दोस्रो ७ मेगावाट क्षमताको जलविद्युत् अयोजनाको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको प्रबद्र्धक कम्पनीले जनाएको छ ।
    जसअन्तर्गत, पावरहाउस निर्माण, पाइपलाइन बिछ्याउने, सर्च टैंक निर्माण गर्ने र अन्य संरचनाहरू तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । अबको ६ महिनाभित्रै विद्युत् उत्पादन हुन सुरु हुने बताइएको छ ।

    करिब १ हजार ५ सय सेयर सदस्यबाट प्राप्त रकम र विभिन्न ४ वटा बैंकबाट लिइएको ऋणसहित करिब ३ अर्ब १५ करोडको अनुमानित लागतमा निर्माणाधीन उक्त आयोजना आगामी ६ महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु हुने कम्पनीका परियोजना व्यवस्थापक रमाकान्त गैरेले बताए ।
    सञ्चालक समितिका सदस्य डा. भीमप्रसाद न्यौपानेका अनुसार दुवै आयोजनाको विद्युत् खरिद सम्झौता(पीपीए) भइसकेको छ । जसअन्तर्गत उपल्लो खिम्ती १२ मेगावाटको सुक्खायाममा प्रतियुनिट ७ रुपैयाँँ र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ रहेको छ । यस आयोजनाबाट वार्षिक ७ करोड ३६ लाख १२ हजार ५ सय १९ युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसका लागि १ अर्ब ४३ करोड ५० लाख ऋण रकम र सेयर सदस्यहरूबाट संकलित ४७ करोड ९१ लाख १४ हजार गरी कुल १ अर्ब ९१ कारोड ४१ लाख १४ हजारको लागत अनुमान गरिएको छ । यसैगरी अपर खिम्ती दोस्रो ७ मेगावाटको सुक्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । यस आयोजनाबाट पनि ४ करोड २२ लाख ९१ हजार २ सय ४८ युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसका लागि ९२ करोड ४० लाख ऋण रकम र ३० करोड ८२ लाख ६० हजार सेयर रकमसहित १ अर्ब २३ करोड २२ लाख ६० हजार गरी कुल १ अर्ब २३ कारोड २२ लाख ६० हजारको लागत अनुमान गरिएको छ । उक्त कम्पनीले दुवै आयोजनाका लागि कुल ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रुपैयाँको लागत अनुुुमान गरेको छ ।
    जसका लागि नबिल बैंकको अगुवाइमा एभरेष्ट बैंक, नेपाल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैकसहितले कुल २ अर्ब ३५ करोड ९० लाख ऋण स्वीकृत गरेका छन् भने ७८ करोड ७३ लाख ७४ हजार रकम सेयर सदस्यमार्फत प्राप्त हुने अनुमान गरिएको छ । यस रकमलाई प्रतिशतमा हेर्दा ऋण रकम ७५ प्रतिशत र सेयर रकम २५ प्रतिशत हुन जान्छ ।
    निर्माण कार्य सम्पन्न हुन लागेसँगै रामेछाप र दोलखा जिल्लाका प्रभावित क्षेत्रका स्थानीयका लागि न्यूनतम ५ हजारदेखि अधिकतम ४ लाख ९० हजारसम्मको सेयर खुल्ला गरेको पनि कम्पनीका सञ्चालक डा. न्यौपानेले जानकारी दिए । विद्युत् उत्पादनपश्चात सोही स्थानमा नेपाल सरकारको लागानीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको खिम्ती– गर्जाङ १३२ के.भी. प्रशारणलाइनको सबस्टेसनमा जडान गरिने बताइएको छ । उक्त सबस्टेसन पनि चिनियाँ कम्पनीले द्रुत गतिमा निर्माण कार्य गरिरहेको छ ।

    :कारोबार