तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

    1660

    एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि रु तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ ।
    व्यास नगरपालिका–५ वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० परिवारले मुआब्जा रकम बुझेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले बताए । मङ्गलबारसम्म अधिग्रहण गरिएको ६० रोपनी जग्गामध्ये नौ रोपनीको मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाले जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ ।
    बाँध जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गाका लागि आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर प्रतिरोपनी नौ लाख ५० हजारदेखि रु २० लाखसम्म मूल्य निर्धारण गरिएको छ । पहिरोमा परेको जग्गाको मुआब्जा प्रतिरोपनी दुई लाख ४० हजार निर्धारण गरिएको छ । नदी फर्काउन तथा बाँध निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाखको सम्झौता भएको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण, विभिन्न उपकरण आपूर्ति, जडान तथा सञ्चालनका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग तीन अर्ब ८३ करोड १४ लाखको सम्झौता भएको छ ।

    :रासस