कमजोर बन्दै जलविद्युत् कम्पनीको आईपीओ

1285

पुस २२,काठमाडौँ

यही बिहीबारदेखि म्याग्दीमा आयोजनास्थल रहेको घलेम्दी हाइड्रोपावरले साधारण सेयर बिक्री गरेको छ ।  सो कम्पनीले रु. १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण सेयर बिक्री शुरु गरेको हो । सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड पाँच दिएको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ ।

सो कम्पनीको सेयर खरिद गर्नेले चालू आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चार रुपियाँ ७७ पैसा मात्रै रहेको छ । यस्तै आगामी आवमा सो कम्पनीको सेयर खरिद गर्नेले प्रतिसेयर दुई रुपियाँ ३२ पैसा मात्रै आम्दानी गर्नेछन् । सो आयोजनाको प्रतिमेगावाट लागत रु. २३ करोड छ । कम्पनीले पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

यो त एउटा उदाहरण मात्रै हो । चालू आवमा नेपाल धितोपत्र बोर्डले साधारण सेयर बिक्रीका लागि अनमुति दिएका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । वित्तीय रूपमा कमजोर रहेका कम्पनीको सेयर खरिद गर्दा नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्तालाई भने त्यसले कुनै फाइदा दिँदैन ।

गत भदौमा कालिका पावर कम्पनीले रु. १२ करोड बराबरको १२ लाख कित्ता साधारण सेयर बिक्री ग¥यो । सो कम्पनीको सेयर धितोपत्र बजारमा हाल प्रतिकित्ता रु. १०० मा खरिद बिक्री भइरहेको छ । सो कम्पनीको वित्तीय अवस्था हेरेको इक्रा नेपालले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार दिएको थियो । सो कम्पनीको सेयरमा लगानीकर्ता ओइरिए र लगानी गरे तर दोस्रो बजारमा सेयरको अवस्था दुरुहपूर्ण रहेको छ ।

यस्तै इस्टर्न हाइड्रोपावर कम्पनीले पनि ग्रेड पाँच पाएको छ । सो कम्पनीले पनि निकट भविष्यमा नै साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

यस्तै केही समय पहिले दोलखा र रामेछापवासीलाई साधारण सेयर बिक्री गरेको हिमालयन ऊर्जा विकास कम्पनीको पनि इक्रा नेपालले रेटिङ ग¥यो । सो कम्पनीले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार प्रदान ग¥यो । सो कम्पनीले आयोजना प्रभावितलाई नौ लाख ९० हजार कित्ता साधारण सेयर बिक्री ग¥यो ।
आयोजना प्रभावितले सेयर आवेदनमा उल्लेख्य सहभागिता पनि जनाए । सो कम्पनीलाई धितोपत्र बोर्डले गत असोज २ गते साधारण सेयर बिक्रीको अनुमति दिएको थियो ।

यस्तै इलाममा आयोजनास्थल रहेको जोशी हाइड्रोपावरले पनि बोर्डबाट साधारण सेयर बिक्रीको अनुमति पायो । स्थानीय आयोजना प्रभावितलाई सेयर बिक्री गर्दा उल्लेख्य सहभागिता नपाएको सो कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा भने राम्रै सहभागिता पायो । कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता साधारण सेयर बिक्री गरेको थियो । सो कम्पनीको पनि वित्तीय अवस्था खराब रहेको भन्दै ग्रेड पाँच पाएको छ ।

बोर्डले चालू आवको हालसम्म विभिन्न नौ जलविद्युत् कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा गत मङ्सिर २७ गते साधारण सेयर बिक्रीको अनुमति पाएको युनिभर्सल पावर कम्पनीले ९६ लाख ६१ हजार ६१० कित्ता सेयर बिक्रीको तयारी गरेको छ ।

यस्तै शिवश्री हाइड्रोपावरले पनि आयोजना प्रभावितलाई पहिलो चरणमा साधारण सेयर बिक्री गर्दैछ । सो कम्पनीले आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता सेयर बिक्री गर्नेछ ।
यस्तै हालै मात्र सेयर बिक्रीको अनुमति पाएको पाँचथर पावर कम्पनीले रु. १९ करोड २५ लाख बराबरको १९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ ।

यस्तै यही पुस १७ गते साधारण सेयर बिक्रीको अनुमति पाएका ग्रिन लाइफ हाइड्रोपावरले रु. १८ करोड बराबरको १८ लाख कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ ।

यस्तै बोर्डमा अनुमतिको प्रतीक्षामा १२ जलविद्युत् कम्पनी रहेका छन् । ती कम्पनीले पनि ढिलो चाँडो साधारण सेयर बिक्रीको अनुमति पाउने छन् । त्यसमा रसुवागढी, साञ्जेन जलविद्युत् कम्पनीबाहेक अरू सबै कम्पनी निजी क्षेत्रले लगानी गरेका हुन् ।  इक्रा नेपाल र केयर नेपालको रेटिङलाई मान्ने हो भने अनुमति पाएका र अनुमतिको प्रतीक्षामा रहेका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था सन्तोषजनक देखिँदैन । साधारण सेयरमा लगानी गर्नेले नाफा कमाउनसमेत लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

सेयर विश्लेषक निरव पुडासैनीका अनुसार धितोपत्र बजारमा सेयरको मूल्य बढ्ने अवस्थामा लगानीकर्ताले नाफा पाउन सक्ने अवस्था रहन्छ तर तत्कालका लागि पनि वित्तीय अवस्था खराब रहेका कम्पनीबाट सेयर लगानीकर्ताले भने प्रतिफल पाइहाल्ने अवस्था भने रहँदैन ।

बजार पुँजीकरण वृद्धि भएको अवस्थामा सेयरलगानीकर्तालाई केही नाफा भने हुनसक्ने टिप्पणी गर्दै उहाँले जलविद्युत् कम्पनीको हकमा भने प्रसारण लाइन र अन्य भौतिक पूर्वाधार छन् कि छैनन् भन्ने विषयले पनि अर्थ राख्ने बताउनुभयो । यस्तै सेयर बजारका अर्का जानकार प्रकाश तिवारी पनि कमजोर वित्तीय अवस्था भएका जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्दा लगानीकर्तालाई तत्काल कुनै फाइदा नहुने बताउनुहुन्छ ।

साधारण सेयर बिक्री गर्ने तयारीमा रहेका र चालू आवमा सेयर बिक्री गरेका कम्पनीमध्ये करिब ६६ प्रतिशत हिस्सा जलविद्युत् कम्पनीको नै छ । ती कम्पनीको वित्तीय अवस्था कमजोर त छँदैछ । त्यसमाथि पनि केही आयोजनाले तोकिए अनुसारको विद्युत् उत्पादनसमेत गर्न सकेका छैनन् । आयोजनाको लागतसमेत अस्वाभाविक रूपमा बढी रहेको छ । यस्तो अवस्थामा लगानीकर्तालाई सहज रूपमा नाफा कमाउने अवस्था भने कमजोर नै हुने तिवारीको टिप्पणी छ ।

स्रोत:गोर्खापत्र