जलविद्युत् कम्पनी प्रोफाइल : चिलिमे हाइड्रोपावर कम्पनी

    2511

    काठमाडौं । देशभित्रका अधिकतम स्रोतको उपयोग गरी जलविद्युत् उत्पादन गर्ने उद्देश्यका साथ सन् १९९५ मा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको स्थापना भएको हो । यसमा नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत (अधिकतम) शेयर स्वामित्व रहेको छ भने २५ दशमलव ५ प्रतिशत शेयर विद्युत् प्राधिकरण र चिलिमेका कर्मचारीको तथा १४ प्रतिशत सर्वसाधारण र १० दशमलव ५ प्रतिशत रसुवाका स्थानीयवासीको छ ।

    काठमाडौंबाट १ सय ३३ किलोमिटर उत्तर रसुवामा रहेको चिलिमेको हाल २२ दशमलव १ मेगावाट बिजुली उत्पादन गर्ने क्षमता छ । यो सन् २००३ अगष्ट २५ बाट सञ्चालनमा आएको हो । चिलिमेबाट उत्पादित धेरैजसो बिजुली दीर्घकालीन विद्युत् खरीद दरका आधारमा नेपाल विद्युत् प्राधिकरणले खरीद गर्ने गर्छ । कम्पनीले वर्षमा १ सय ५० गिगावाट बिजुली उत्पादन गर्छ । कम्पनीले थप तीनओटा सहायक कम्पनी मार्फत चारओटा हाइड्रोपावर परियोजना बनाउनेछ, जसबाट २ सय ७० दशमलव ३ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको छ ।

    कम्पनीले सन् २०२० सम्ममा ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता गरेको छ । कम्पनीले सहायक कम्पनीअन्तर्गतका जलविद्युत् आयोजना साञ्जेन (दुई परियोजना), मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर परियोजनाका लागि छुट्टै सहायक कम्पनी स्थापना भएका छन् ।

    १) साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड
    चिलिमेको सहायक कम्पनी, साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड (एसजेसीएल) मार्च २०१० बाट पब्लिक लिमिटेड कम्पनीका रूपमा अघि बढेको हो । एसजेसीएलले रसुवामा ४२ दशमलव ५ मेवाको साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट (एसएचईपी) र १४ दशमलव ८ मेवाको माथिल्लो साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट (एसयूएचईपी) निर्माण गर्नेछ । दुवै परियोजना विद्युत् उच्च माग भएका बेला सञ्चालन गर्ने (पिकिङ रन अफ रिभर) प्रकृतिका हुन् । यसमा साञ्जेनका आयोजनाहरूमा ५१ प्रतिशत संस्थापक शेयर र ४९ प्रतिशत पब्लिक शेयर रहने गरी लगानी तय भएको छ । संस्थापक शेयरबाट चिलिमेको ३८ प्रतिशत साथै नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत शेयर रहनेछ ।

    साञ्जेन कम्पनीअन्तर्गतको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण ५५ प्रतिशत पूरा भइसकेको छ । आयोजनाका अनुसार विद्युत्गृहमा १ हजार ३ सय ८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहानस्थलमा बाँध बाँध्ने काम सकिएको साथै विद्युत्गृहको निर्माण अगाडि बढिसकेको छ । आगामी १ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ माथिल्लो साञ्जेनको निर्माण भइरहेको छ ।

    माथिल्लो साञ्जेनकै क्यास्केड परियोजनाका रूपमा रहेको साञ्जेन जलविद्युत् आयोजना (४२ दशमलव ५ मेवा)को निर्माण पनि तीव्र रूपमा अगाडि बढिरहेको छ ।

    कुल ४ हजार २ सय मिटर लम्बाइमध्ये हालसम्म २ हजार २ सय मिटर सुरुङ खन्ने काम पूरा भइसकेको आयोजना स्रोतले बताएको छ ।

    २) मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड
    चिलिमेको अर्को सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सिन्धुपाल्चोक जिल्लामा मध्यभोटेकोशी जलविद्युत् आयोजना (१ सय २ मेवा) निर्माण गर्नेछ । यो आयोजना चिलिमे जलविद्युत् कम्पनीद्वारा अघि बढाइएका आयोजनाहरूमध्येमा सबैभन्दा बढी क्षमताको आयोजना हो । यो, नदी प्रवाही (रन अफ रिभर) प्रकृतिको आयोजना हो । यसमा ३४/३४ मेगावाट क्षमताका तीनओटा युनिट रहनेछन् । यस परियोजनाको विद्युत् खरीद सम्झौता, वित्तीय व्यवस्थापन लगायतका कार्य सकिसकेको छ ।

    हाल २४सै घण्टा काम भइरहेको उक्त परियोजनाको करीब २५ प्रतिशत काम सकिएको आयोजना स्रोतले बताएको छ । यतिबेला मध्यभोटेकोशी जलविद्युत् आयोजनाको हेडवर्क्स, पावर हाउस तथा टनेल सबैको काम एकसाथ चलिरहेको छ ।

    ३) रसुवागढी जलविद्युत् कम्पनी लिमिटेड
    चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रूपमा रहेको रसुवागढी जलविद्युत् कम्पनी लिमिटेड सन् २०११ को अगष्टबाट पब्लिक कम्पनीका रूपमा रहेको छ । यसले उत्तरी रसुवाको सीमावर्ती क्षेत्र थुमनमा १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो रन अफ रिभर प्रकृतिको आयोजना हो । हाल आयोजनाको सुरुङ निर्माणको काम ४० प्रतिशतको हाराहारीमा पुगिसकेको आयोजना स्रोतले बताएको छ ।

    चिलिमेको आर्थिक तथा शेयर बजारको अवस्था
    कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ६९ करोड ९४ लाख नाफा कमाएको छ । गतवर्षको यसै समयको तुलनामा शून्य दशमलव ७४ प्रतिशत नोक्सान भएको हो । कम्पनीले आव २०७२/७३ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

    कम्पनीको चुक्तापूँजी यो त्रैमासमा १० प्रतिशतले वृद्धि भई रू.३ अर्ब ४४ करोड पुगेको छ । गतवर्षको यसै समयमा कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १३ करोड रहेको थियो । ९ दशमलव ३० प्रतिशतले गतवर्षको यसै अवधिको तुलनामा जगेडा रकम वृद्धि भई रू. ४ अर्ब ६६ करोड ८५ लाख ४२ हजार पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २७ दशमलव शून्य ५ रहेको छ ।

    कम्पनीको आइतवार दिनभरिको शेयर कारोबारमा रू. ८ सय ३० मूल्यमा शुरू भएको कम्पनीको शेयर मूल्य उच्च रू. ८ सय ३५ र न्यून मूल्य रू. ८ सय २६ सम्म तय भई रू. ८ सय ३२ मा गएर बन्द भएको थियो । यसको मतलब आइतवार कम्पनीको प्रतिशेयर मूल्य रू. ८ सय ३२ रहेको थियो ।

    दुर्गा लामिछाने

    स्रोत: अभियान