बूढीगण्डकी जलाशययुक्त विद्युत् आयोजना – फ्रान्सको ट्राक्टवेल परामर्शदातामा छनोट

    2794

    बूढीगण्डकी जलाशययुक्त विद्युत् आयोजनाको परामर्शदातामा फ्रान्सको ट्राक्ट्वेल इन्जिनियरिङ एसए छनोट भएको छ ।
    नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार वसेको बैठकले आर्थिक एवं प्रविधिक रूपमा सक्षम ट्राक्टवेललाई परामर्शदाता छनोटको निर्णय गरेको हो । ट्राक्टवेलसँग थप छलफल गरेर सम्झौता गर्न सञ्चालक समितिले व्यवस्थापनलाई निर्देशनसमेत दिएको छ ।
    ट्राक्टवेलले ८६ करोड रुपैयाँमा आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङका साथै आयोजना निर्माणका लागि बोलपत्रसमेत तयार गर्ने प्रस्ताव गरेको प्राधिकरणका एक अधिकारीले कारोबारलाई बताए । उनले सञ्चालक समितिले निर्णय गरेकाले अब ट्राक्टवेलसँग वार्ता गरेर सम्झौता गरिने बताए । छनोटपछि उसले काम सुरु गरेको साढे २ वर्षमा उल्लिखित काम गर्नुपर्नेछ ।
    ट्राक्टवेल र नेपालको जेड कन्सल्टले संयुक्त रूपमा बोलपत्रमा भाग लिएका थिए । परेका प्रस्तावह«को मूल्यांकन गर्न गठित समितिले उसैलाई सिफारिश गरेको थियो ।
    विद्युत् प्राधिकरणले प्रस्ताव आह्वान गर्दा २४ विदेशी कम्पनीले प्रस्ताव पेस गरेकोमध्ये एमडब्ल्युएच अमेरिका, इएलसी इलेक्ट्रोकन्सल्ट स्पा इटाली र ट्राक्टवेल छनोट भएका थिए ।
    विद्युत् केन्द्र राजधानीबाट नजिक भएकाले सरकारले यो आयोजनालाई अघि बढाउने तयारी गरेको हो । बूढीगण्डकीलाई सरकारले राष्ट्रिय प्राथमिकताको आयोजनामा राखेको छ । यसअघि सरकारले माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनामा ग्लोबल टेन्डरबाट अघि बढाउने प्रयास असफल भएको थियो ।
    अध्ययनका क्रममा परामर्शदाताले आधा किलोमिटर अडिट सुरुङको निर्माण, २ किलोमिटर लामो ड्रिलिङका साथै वातावरणीय र सामाजिक प्रभावको मूल्यांकनसमेत गर्नेछ ।
    सन् १९८४ मा विद्युत् प्राधिकरणले गरेको पूर्वसम्भाव्यता अध्ययनअनुसार आयोजनाको जडित क्षमता ६ सय मेगावाट हुने देखाएको छ । आयोजनाबाट वार्षिक साढे २ अर्ब युनिट बिजुली उत्पादन हुने सो अध्ययनमा परिमार्जन भई आयोजनाको क्षमता झन्डै दोब्बर हुने अवस्था देखिएको छ ।
    प्राधिकरणका अनुसार ६ सय मेगावाटमा आयोजनाको विकास गरे ११ घण्टासम्म ऊर्जा उत्पादन गर्ने र १ हजार १ सय ४० मेगावाट मेगावाटमा निर्माण भए दैनिक ६ घण्टा विद्युत् उत्पादन हुने देखिएको छ । ०६७ पुसमा लगानीकर्ता खोजेर आयोजना निर्माण गर्न सरकारले विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो ।
    राजधानीबाट ६८ किलोमिटर मात्र टाढा रहेको यो आयोजना आर्थिक एवं प्राविधिक रूपमा सम्भाव्य देखिएकाले प्राधिकरणले अघि बढाउन सम्भाव्यताको अध्ययन थाल्न लागेको हो । प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनअनुसार आयोजनाको अनुमानित लागत ७७ करोड ४० लाख अमेरिकी डलर लाग्ने देखाए पनि हाल १ अर्ब ५० करोड अमेरिकी डलर लाग्ने देखाएको छ ।
    यसअघि ग्लोबल टेन्डरबाट आयोजना निर्माणका लागि छनोट भएको इलेक्ट्रिसिट डे फ्रान्स (इडीएफ) ले आयोजनाको निर्माण आठ वर्षपछि  मात्र सुरु गर्ने कार्ययोजना पेस गरेपछि प्राधिकरणले आफैं अध्ययन सुरु गर्न लागेको हो । आगामी तीन वर्ष अध्ययन र वित्तीय व्यवस्था गर्न र बाँकी ६ वर्ष निर्माणका लागि लाग्नेछ ।
    विद्युत आयोजना गोरखा र धादिङ जिल्लाको सिमानामा पर्छ । प्राधिकरणले गरेको अध्ययनअनुसार धादिङको बेनीघाटस्थित बूढीगण्डकी नदीमा २ सय २५ मिटर अग्लो कंक्रिट बाँधको निर्माण हुनेछ । एक किलोमिटर लामो सुरुङबाट ल्याइएको पानी १ सय ८५ मिटर अग्लो हेडबाट पानी खसाली ६ सय मेगावाट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । आयोजनाको विद्युत्गृह त्रिशूली नदीको किनारमा रहनेछ ।

    प्रस्तुति : कारोबार