चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा

1337

खलङ्गा, वैशाख ४ गते ।  जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ ।

जुम्लाको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा गाउँपालिकाले सबै घरधुरीको नाममा शेयर लगानी गरेको हो । यसका लागि गाउँपालिकाले रु दुई करोड लगानी गरेको हो ।

गाउँपालिकाले यहाँका तीन हजार ३२० घरधुरीको नाममा सो आयोजनाको शेयर लगानी गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो रकम बराबरले विद्युत्मा काम गर्नेछन् र काम गरेका जनताको नाममा शेयर लगानी हुनेछ । यसैगरी सो गाउँपालिकाका एक हजार १०० स्थानीयवासीले व्यक्तिगत रुपमा रु ९० लाख शेयर लगानी गरेको चुकेनी खोला विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर रावतले जानकारी दिनुभयो ।

यसका साथै रु एक करोड गाउँपालिकाले आफ्नो नाममा शेयर लगानी थपेको छ । यसको साथै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि लगानी गर्ने भएपछि सो जलविद्युत् आयोजना बन्ने पक्का भएको छ । अध्यक्ष रावतका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु २८ करोड ४४ लाख ३० हजार र थप बजेट अनुदान रु १८ लाख २८ हजार स्वीकृत भई बजेट सिलिङको पत्रसमेत प्राप्त भइसकेको छ ।

यसैगरी कर्णाली प्रदेश सरकार आर्थिक मामिला योजना मन्त्रालयबाट रु एक करोड रकम विनियोजन भएको पनि उहाँले जानकारी दिनुभयोे । यसैगरी विभिन्न निकायको सहयोग तथा स्थानीयको शेयर लगानीसमेत भएपछि अब करीब एक मेघावाट बत्ती जुम्लामा दुई वर्षमा उत्पादन हुने पक्का भएको छ ।

विसं २०६९ वैशाख महीनामा उद्घाटन गरिएको सो जलविद्युत् आयोजना रकम अभावका कारण रोकिएको थियो । लगानी जुटेपछि अहिले टेण्डर प्रक्रिया अगाडि बढी सकेको छ । यसका साथै विद्युत्मा जनताले गरेको शेयर लगानी आम्दानीको ५० प्रतिशत जनतालाई मुनाफा वितरण गरिने लक्ष्य रहेको अध्यक्ष बुढाले बताउनुभयो ।

उहाँका अनुसार आयोजना निर्माणका लागि एशियाली विकास बैंक (एडिबी)ले रु तीन करोड ऋण उपलब्ध गराउने भएको छ । आफ्नै खोलानालाबाट निकालिएको बिजुली नै आम्दानीको स्रोत भएकाले धेरै प्रयासपछि चुकेनीको लगानी जुटेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताउनुभयो ।

चालिस वर्षअघि जुम्लाको सदरमुकाम खलङ्गाको साना जलविद्युत् आयोजनाबाट उत्पादित २२० किलोवाट विद्युत्बाट अहिले बजारको माग धान्न सकेको छैन् । चुकेनी जलविद्युत् आयोजना निर्माण भएमा पातारासी गाउँपालिकासहित जुम्ला सदरमुकामलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने चुकेनी विद्युत् संहकारी संस्था लिमिटेडको लक्ष्य छ । उद्योग स्थापनाको बाटो खुल्ने

पर्याप्त जडिबुटीको उच्च सम्भावना रहेको पातारासीमा विद्युत् उत्पादन भएपछि जडिबुटी प्रशोधन केन्द्र स्थापना हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।

यहाँ यार्सा, पाँचऔले, भुल्ते, खिरौलासहित दर्जनौँ प्रकारका लाखौँको जडिबुटी उत्पादन हुन्छ । तर बिजुली अभावका कारण जडिबुटी प्रशोधन केन्द्र स्थापना हुन नसक्दा यसबाट स्थानीयवासीले फाइदा लिन सकेको छैन भने ठूला व्यापारीहरुले लगानी गर्न सकेको अवस्था छैन । अब बिजुली उत्पादन भएमा लगानी गर्न सजिलो हुने बताइएको छ ।

यस्तै जुम्ला सदरमुकाममा पनि प्रयाप्त बिजुलीको अभावमा स्याउ प्रशोधन उद्योगदेखि विभिन्न आधुनिक उद्योगहरु फष्टाउन सकिएको छैन । यस्तो अवस्थामा चुकेनी जलविद्युत्ले यहाँको विकास र समृद्धिमा कोशेढुङ्गा सावित हुने विश्वास स्थानीयवासीको छ ।

 

स्रोत:गोर्खापत्र