नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी

1759

कार्तिक ६, २०७६

नेपाल र अष्ट्रियाबीच उर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । नेपाल र अष्ट्रियाबीच गठित उर्जा संयन्त्रको पहिलो सचिवस्तरिय बैठकमा दुवै देशबीच उर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट उर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टीलरले हस्ताक्षर गरेको ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

काठमाडौंमा सोमबार बसेको संयन्त्रको पहिलो बैठकमा नेपालका तर्फबाट उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाकातर्फबाट यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर सहभागी थिए ।

संयन्त्रको पहिलो बैठकमा ६ सय ३५ मेगावटको दुध कोशी र १ सय मेगावाटको तामाकोशी–५ जलविद्युत् आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत आयोजनाहरुको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमती भएको उर्जा मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताए । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिको लागि समेत प्राविधिक सहयोग गर्ने समझदारी बनेको छ ।

नेपाल र अष्ट्रियाबीच जलविद्युत् पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा गत जेठ ८ मा हस्ताक्षर भएको थियो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा समकक्षी एन्दे्रइस रेइकार्डसँग सो सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने उक्त सहमतीमा उल्लेख थियो । त्यसका साथै परियोजनाको पहिचान गरेर संयुक्त कार्य समुह बनाएर काम गर्ने समझदारी समेत भएको छ ।

समझादरी अनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने छ ।

मन्त्री पुनले उर्जा मन्त्रालयको कार्यभार सम्हालेसँगै चीन, बंगलादेश र अष्ट्रियासँग उर्जा समझदारीमा हस्ताक्षर भइसकेको प्रेस संयोजक खड्काले जानकारी दिए ।

यसैगरी अष्ट्रियाको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पुनसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा सल्लाहकार सोन्जा स्टीलरले नेपालको जलविद्युत् क्षेत्रका दुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिएकी थिइन् ।

 

स्रोत:कारोबार