अरुण तेस्रो र माथिल्लो कर्णालीमा भारतीय कम्पनीले लगानी जुटाउन सकेनन्

    1582

    नेपालका दुई ठूला आयोजना अरुण तेस्रो र माथिल्लो कर्णालीका प्रवर्द्धक दुई भारतीय कम्पनी जीएमआर र एसएभीएन तोकिएको समयमा लगानी जुटाउन असफल भएका छन् ।

    तोकिएको समयमा फाइनान्सियल क्लोजर गर्न नसकेपछि उनीहरुले लगानी बोर्डमा एक वर्ष समयावधि थप गर्न प्रस्ताव पठाएको लगानी बोर्डले जनाएको छ ।

    परियोजना विकास सम्झौता (पीडीए) अनुसार आगामी केही महिनाभित्रै दुबै कम्पनीले फाइनान्सियल क्लोजर गरिसक्नुपर्ने छ । फाइनान्सियल क्लोजिङ गर्न नसकेको खण्डमा सम्झौता खारेज हुने कानूनी व्यवस्था छ ।

    माथिल्लो कर्णालीमा जीएमआरले लगानी जुटाउनुपर्ने म्याद सकिन अब १५ दिनमात्र बाँकी छ भने अरुण तेस्रोमा एसजेभीएनको आगामी पुससम्मको म्याद छ । करिब ७ महिनाअघि जीएमआरले र केहीदिन अघिमात्रै एसजेभीएनले एक वर्ष म्याद थप्न लगानी बोर्डलाई आग्रह गरेका छन् ।

    ‘उहाँहरुले एक वर्ष समय थप गर्नुपर्छ भन्ने प्रस्ताव पठाउनुभएको छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘हामीले टाइमलाइन बनाएर ल्याउनोस् भनेका छौं । चित्तबुझ्दो टाइमलाइन आए जति आवश्यक हो त्यतिमात्रै समय थप गर्नेछौं ।’

    सन् २००८ मा १८ सय मेगावाट विद्युत उत्पादन गरेर भारतमा बेच्ने लक्ष्यसहित नेपाल भित्रिएको जीएमआर र एसजेभिएन दुबै असफल भएका हुन् । उनीहरुले ९ सय मेगावाटको माथिल्लो कर्णाली र ९ सय मेगावाटकै अरुण तेस्रो निर्माण गर्ने सम्झौता गरेका थिए ।

    भूकम्प, मधेस आन्दोलन र नेपालको राजनीतिक अस्थिरताका कारण तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसकिएको भन्दै उनीहरुले समयावधि थप गर्न माग गरेका हुन् ।

    विभिन्न अन्तरराष्ट्रिय बैंक तथा वित्तीय संस्थाले माथिल्लो कर्णालीमा लगानी गर्नका लागि आवश्यक १ खर्ब ३९ अर्ब रुपैयाँमध्ये १ खर्ब १० अर्ब रुपैयाँसम्म लगानी गर्ने आशयपत्र दिएको लगानी बोर्डले जनाएको छ ।

    स्रोत : Online Khabar