स्थानीयद्वारा तामाकोसीका कर्मचारी नियन्त्रणमा

    2491

    दोलखा, ९ साउन ।

    upper tamakoshiमाथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अस्वभाविक रुपमा लागत र समय बढाउने खेल गरेको भन्दै स्थानीयले सिंगटीमा आयोजनाका कर्मचारी र गाडि नियन्त्रणमा लिएका छन् । बुधबार दिउँसो सिंगटीमा स्थानीयहरुले १२ कर्मचारीलाई दुई घण्टा नियन्त्रणमा लिएर छाडेका छन् ।

    काठमाडौंबाट आयोजनास्थलतर्फ जाँदै गरेका कर्मचारी चढेको माइक्रोबसलाई स्थानीयले रोकेर आफ्ना मागहरुका सवालमा ऊर्जामन्त्रीका प्रतिबद्धता पूरा नभएको भन्दै रोकेर सोधपुछ गरेका थिए । आयोजनाका एक कर्मचारीका अनुसार आफूहरुले जस्ताको तस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवको सचिवालय, आयोजनाको प्रशासन तहमा जानकारी गराएपछि छाडेका थिए ।

    स्थानीयले आयोजनाको आधा दर्जन गाडि रोकेर सोधपुछ गरेका थिए । सस्तो आयोजनालाई विभिन्न बहानामा समय र लागत बढाउने खेल खेल्ने आयोजना र परामर्शदाताका माथिल्ला कर्मचारीलाई आयोजनास्थल प्रवेशमा समेत रोक लगाउने स्थानीयले बताएका छन् । दोलखा उत्तरी क्षेत्र नागरिक समाजले बुधबार एक विज्ञप्ती प्रकाशित गरी कारोबार दैनिकमा प्रकाशित समाचारप्रति अझ गम्भिर भएको बताए ।

    नेपाली काँग्रेस दोलखाका सभापति ताराबहादुर कोइरालाले आयोजनाको सुरुङको डिजाइन परिवर्तन गरी आयोजनाको समय र लागत बढाएर आयोजना डुबाउने खेलमा आयोजनाको परामर्शदाता विदेशी कम्पनी लागि परेकोले उसलाई कारबाही गर्नु पर्ने माग गरे । दोलखाको सर्वदलीय टोली केही दिनमै आयोजनाको समस्याको सवालमा सरकारसँग डेलिगेसन जाने बताए ।

    प्रस्तुति: कारोबर

    —————————————————————————————————————————————————————————————————————————-

    तामाकोशीमा टेलिकमका कर्मचारी सेयरहोल्डर

    कर्मचारीलाई ९ लाख १४ हजार कित्ता सेयर छुट्टाइयो

    १० साउन, काठमाडौं । स्वदेशी पुँजीबाट निर्माण हुन लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट नेपाल टेलिकमका कर्मचारीहरु मालामाल हुने भएका छन । आयोजनामा झण्डै १० करोड रुपैयाँ बराबरको  शेयर पाउने भएपछि कर्मचारीहरु मालामाल हुने भएका हुन् । दोलखा जिल्लाको लामाबगरमा रहेको ४ सय ५६ मेगावाट क्षमताको आयोजना हाल निर्माण भइरहेको छ ।

    आयोजनामा टेलिकमका कर्मचारीहरुले ९ लाख १४ हजार कित्ता शेयर पाउने भएका छन् । टेलिकमले निर्माणाधीन आयोजनामा ६ अर्ब ऋण लगानी र ६२ करोड संस्थागत शेयर लगानी गरेको छ । आयोजनाले गत बिहीबार टेलिकमलाई पत्राचार गरि कर्मचारीलाई वितरण गरिने सेयरको खाका पठाउन आग्रह गरेको छ । तामाकोशीमा लगानी सम्झौता हुनु अगावै टेलिकममा कार्यरत कर्मचारीहरुलाई सेयर दिने सहमती भएको थियो । निर्माणाधीन आयोजना भएकाले कर्मचारीहरुले प्रतिकित्ता एक सय रुपैयाँका दरले सेयर पाउने भएका छन् ।

    कर्मचारीले पाउने सेयरको खाका पठाउन आयोजनाले पत्राचार गरेपछि टेलिकमले कर्मचारीलाई छुट्टाएको सेयर कसरी वितरण गर्ने भनेर खाका बनाउन लागेको जनाएको छ । कर्मचारी युनियनहरुसँग छलफल गरेर छिट्टै सेयर वितरणको खाका तयार पारि आयोजनालाई पठाउने टेलिकमले बतायो ।

    सबैभन्दा कम लगानीबाट निर्माण हुन लागेको आयोजनाको शेयरमा लगानी गर्नेहरु मालामाल हुने पक्का पक्की रहेको छ । आयोजना सम्पन्न भएपछि लोडसेडिङ ४ घण्टामा झर्ने अपेक्षा गरिएको छ । ३५ अर्ब २५ करोड रुपैयाँमा निर्माण हुन लागेको आयोजनाले १० अर्ब ५९ करोड रुपैयाँ बरारबरको सेयर वितरण गर्नेछ । सन् २०१५ भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको आयोजना अण्डरग्राउण्ड आयोजना हो । यस आयोजनामा १६ किलोमिटर सुरुङ रहने छ । आयोजनाको विद्युत गृह पनि जमिन मुनि नै रहने छ ।

    Source : Online Khabar