अरुणको बिजुली तराइमा ल्याउन ४०० केभी प्रसारणलाइन बन्ने, डीपीआरका तयार पार्न परामर्शदाता नियुक्ति

    1135

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अरुण नदीमा निर्माण हुने आयोजनाहरूको बिजुली तराइमा ल्याउन ४०० केभी क्षमताको प्रसारणलाइन निर्माण गर्न लागेको छ । प्राधिकरणले अरुण हव र तिङला मिर्चेया र ढल्केबरसम्म जोड्ने गरी प्रसारणलाइन बनाउन लागेको हो ।

    प्रसारणलाइनको काम सुरु गर्न प्राधिकरणले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परामर्शदाता छनौट गर्नुअघि प्राधिकरणले विदेशी कम्पनीसंग आशयपत्र (इओआई) मागेको छ । ईओआईबाट छनौट भएका कम्पनीले ग्लोबल टेण्डरमाफत डीपीआरका लागि छनौट हुनेछ ।

    यो प्रसारणलाइनको डीपीआर विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय विकास संस्था (आईडीए) को ऋण तथा अनुदान हुने छ । छनौट हुने परामर्शदाताले विस्तृत अयोजनाको डिजाइन तयारी गर्ने छ । प्रसारणलाइन अरुण हव, वसन्तपुर, इनरुवा र तिङला, दुधकोसी, मिर्चैया अर्थात ढल्केबर प्रसारणलाइन र सवस्टेशनसम्म ल्याइनेछ ।

    प्रसारणलाइनलाई दुई भागमा विभाजन गरिने भएको छ । एउटा खण्डअन्र्तगत सोलुको तिङला, दुधकोसी खोटाङ, ओखलढुङा हुदै सिरहाको मिर्चेया र धनुषाको ढल्केबरसम्म १२० किलोमिटर र अरुण हव संखुवासभादेखि तेह्रथुमको वसन्तुपुर, सुनसरीको इनरुवासम्म १३० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।

    भाग लिन परामर्शदाताले ४०० केभी क्षमताको प्रसारणलाइनको डिजाइन गरेको १० वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको छ । परामर्शदाता छनौट गुणस्तर र लागतमा आधारित (क्युसीबीएस) विधिबाट परामर्शदाता छनौट गरिने प्राधिकरणले जनाएको छ । आशयपत्र पेश गर्ने समयमा जन २८ तारिख तोकिएको छ ।

    अरुण किमाथांका, माथिल्लो अरुण, अरुण तेस्रो, तल्लो अरुणलगायत आधदर्जन बढी ठुला जलविद्युत आयोजनाबाट झण्डै ३ हजार मेगावाट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । यस्तै अरुणनदी आसपास र सहायक नदीबाट उत्पादन हुने बिजुली सो लाइनमार्फत प्रसारण गरिने छ ।

    -विकासन्युज