मध्य तमोर जलविद्युत् : तालले बढाइदियो १९ मेगावाट

    2068

    ताप्लेजुङ — दुई वर्षअघि पहिरोले थुनिएको क्षेत्रमा तमोर नदीको सतह माथि उठेको पाइएको छ । सतह उठेकै कारण उक्त क्षेत्रलाई विद्युत् आयोजनाको क्षमता बढाउन उपयोग गरिने भएको छ । मध्यतमोर जलविद्युत् आयोजनाले उत्पादन क्षमता बढाएर ७३ मेगावाट बनाउन लागेको हो ।

    २०६७ मा गरिएको प्रारम्भिक अध्ययनमा ७५ मेगावाट उत्पादनको प्रस्ताव गरिए पनि सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले गरेको विस्तृत अध्ययनमा उचाइ (हेड) नपुग्ने भएपछि ५४ मेगावाटमा झारिएको थियो । त्यसैअनुसार उत्पादनका लागि जग्गा खरिदलगायत कामसमेत सम्पन्न भइसकेको थियो । तर, अहिले नदीको सतह १२ मिटरभन्दा माथि उठेपछि १९ मेगावाट बढाउन लागिएको हो ।

    २०७३ असारमा फक्तालुङ गाउँपालिका–२ सावादिनको नाक्लाभीर खसेर तमोर थुनिँदा ठूलै ताल जमेको थियो । पानी दुई सातापछि मात्र निकास भएको थियो । ताल फुटेपछि आयोजनाले गरेको अध्ययनले नदीको सतह पहिलेभन्दा १२ मिटर माथि उठेको पुष्टि गरेको हो । पहिरोबाट सिर्जित अवरोध अहिले पनि कायम रहेको र भविष्यमा कुनै पनि बेला भत्किन सक्ने भएका कारण हेडबक्स र उत्पादनगृह राख्ने स्थान परिवर्तन गरिएको आयोजनाले जनाएको छ । लिमिटेडका वातावरणविद् अरविन्द्र श्रेष्ठका अनुसार हेडबक्स साबिकभन्दा १२ सय मिटर माथिको तटीय क्षेत्र र विद्युत्गृह एक हजार मिटर तलको थुम्बाबेंसीमा सारिएको छ ।

    यसअघि लोरिनदिनमा हेडबक्स र थुम्बाभन्दा माथिल्लो क्षेत्रमा उत्पादनगृह राख्ने तयारी भएको थियो । श्रेष्ठका अनुसार संरचना निर्माणस्थल परिवर्तनका आधारमा आयोजनाले प्रयोग गर्ने उचाइ ३८ मिटर थप हुन गएको छ । अब आयोजनाको उचाइ १ सय ३२ मिटर हुने भएको छ । ५४ मेगावाटको योजना बनाउँदा ९४ मिटर मात्रै थियो । अब यसको बहाव ७३.७१ घनमिटर प्रतिसेकेन्ड हुने भएको छ ।

    चार वर्षमा सक्ने लक्ष्य राखिएको आयोजनाको लागत करिब १२ अर्ब रुपैयाँ छ । ७५ प्रतिशत लगानी बैंक र २५ प्रतिशत स्व:पुँजी रहने आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत ३ हजार ३ सय ६७ मिटर लामो सुरुङ मार्ग बनाइनेछ । मित्लुङको माथिल्लो क्षेत्रमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध बनाएर साइड इन्टेकमार्फत पानी ग्राभेल फाल्ने क्षेत्रमा पठाउने, त्यहाँबाट एक सय मिटर लम्बाइ र १३ मिटर चौडाइका तीनवटा भूमिगत च्याम्बर बनाउने र बालुवा थिग्य्राउने ठाउँमा पुर्‍याइनेछ । बालुवा तथा लेदो भने तमोर नदीमै फालिनेछ ।

    उत्पादित विद्युत् कोसी करिडोरमा जोडिनेछ । विद्युत् प्राधिकरणले २२० केभी क्षमताको करिडोर निर्माणका लागि मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुमा जग्गा खरिद गरेको छ ।

    स्रोत:कान्तिपुर