एचआईडीसीएल ५ वर्षमा ५० अर्बको कम्पनी हुन्छ

    2830
    प्रतिस्पर्धाबाट सीईओ बनेका दीपक रौनियारले एचआईडीसीएलको नेतृत्व गरेको ४ वर्ष पूरा हुन लागेको छ । यो वर्षको अवधिमा धेरै आयोजनामा सहवित्तीयकरणअन्तर्गत लगानी सम्झौता गरिसकेको एचआईडीसीएलले वैदेशिक रोजगारीमा गएका युवाबाट प्राप्त हुने रेमिट्यान्सलाई पनि जलविद्युत्मा लगानी गर्ने उद्देश्यले रेमिट हाइड्रो स्थापना गरेको छ । यो कम्पनीले १२५ मेगावाट क्षमताका २ आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि सर्वेक्षण लाइसेन्स पनि पाइसकेको छ । एचआईडीसीएलको हालसम्मको उपलब्धि र भावी योजनाका विषयमा केन्द्रित रहेर बाह्रखरीकर्मीद्वय बाबुराम खड्का र सुजन ओलीले सीईओ रौनियारसँग गरेको कुराकानी ।
    प्रतिस्पर्धाबाट सीईओ बनेका दीपक रौनियारले एचआईडीसीएलको नेतृत्व गरेको ४ वर्ष पूरा हुन लागेको छ । यो वर्षको अवधिमा धेरै आयोजनामा सहवित्तीयकरणअन्तर्गत लगानी सम्झौता गरिसकेको एचआईडीसीएलले वैदेशिक रोजगारीमा गएका युवाबाट प्राप्त हुने रेमिट्यान्सलाई पनि जलविद्युत्मा लगानी गर्ने उद्देश्यले रेमिट हाइड्रो स्थापना गरेको छ । यो कम्पनीले १२५ मेगावाट क्षमताका २ आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि सर्वेक्षण लाइसेन्स पनि पाइसकेको छ । एचआईडीसीएलको हालसम्मको उपलब्धि र भावी योजनाका विषयमा केन्द्रित रहेर बाह्रखरीकर्मीद्वय बाबुराम खड्का र सुजन ओलीले सीईओ रौनियारसँग गरेको कुराकानी ।

     

    तपाईंको नेतृत्वमा एचआईडीसीएलले के–के काम गर्यो ?
    म एचआईडीसीएलको पहिलो कर्मचारी र सीईओ हो । हामीले सबैभन्दा पहिले ३ वटा काम अघि बढायौँ । हामीसँग सेयरबापत प्राप्त भएको रकम परिचालन, लगानी र पूर्वाधार विकास गर्ने योजना अघि बढायौं । अहिलेसम्म हामीले विभिन्न १२ जलविद्युत् आयोजनामा लगानी सम्झौता गरेका छौं । विभिन्न क्षमताका ७ जलविद्युत् आयोजनामा लगानी गर्न खोजिरहेका छौं । योबाहेक नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत नेपालतर्फको पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन)मा १४ प्रतिशत स्वपँुजी लगानी र विप्रेषणबाट प्राप्त रकम जलविद्युत्मा लगानी गर्ने उद्देश्य लिएर हामीले रेमिट हाइड्रो लिमिटेडको स्थापना गरेका छौं । रेमिटले ऊर्जा मन्त्रालयबाट २ वटा आयोजनाको विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) पाएको छ । १२५ मेगावाट क्षमताका २ आयोजना रेमिटमार्फत् अघि बढदैछन् । त्यस्तै, एकीकृत रूपमा विद्युत् उत्पादन गर्ने सरकारी तयारी भइरहेका बेला हामीले गठन हुन लागेको राष्ट्रिय विद्युत् उत्पादन कम्पनीमा १० प्रतिशत सेयर लगानी गर्ने निर्णय पनि गरिसकेका छौं ।
    योबाहेक हामीले २ अर्ब रुपैयाँको साधारण सेयर निष्कासन गरी हामी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सार्वजनिक कम्पनी भएका छौं । ४ वर्षको उपलब्धि हेर्दा एचआईडीसीएल आफ्नो खुट्टामा उभिइसकेको छ ।
    गत आर्थिक वर्षमा कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
    कम्पनीको व्यवसाय बढ्दै गएको छ । जलविद्युत्जस्ता ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्ने कम्पनी भएकाले एचआईडीसीएलको लगानी दिर्घकालीन प्रकृतिको हुन्छ । वित्तीय व्यवस्थापन भएपछि पनि रकम परिचालन गर्न केही समय लाग्छ । गत वर्ष भूकम्प र सीमा नाका अवरोधले सम्झौता भएको ऋण लगानी हुन सकेन । अवस्था सामान्य भएपछि एचआईडीसीएलबाट ऋण लगानी सुरु भएको छ । गत वर्ष समग्र रूपमा बैंकिङ क्षेत्र राम्रो थिएन, त्यसैले हाम्रो लगानी मुद्दति निक्षेपबाट सोचेअनुसार राम्रो प्रतिफल पाउन सकिएन । गत वर्षको वित्तीय अवस्था कोशेढुंगा हुन सक्दैन, किनभने एचआईडीसीएल जलविद्युत्मा लगानी गर्न स्थापना भएको हो । गत वर्ष विभिन्न प्रतिकूल अवस्था रहे पनि हाम्रो वित्तीय अवस्था राम्रो थियो । गत वर्ष अनुमानित नाफा २५ करोड रुपैयाँ छ । हाम्रो नाफा घटेको हैन, तर साधारण सेयर निष्कासन गर्दा थप १३ करोड रुपैयाँ खर्च भएकाले नाफामा असर परेको हो ।
    एचआईडीसीएलमा सर्वसाधारणको पनि लगानी छ । सबैको ध्यान लाभांशतर्फ छ । गत आवमा गरेको नाफाबाट सेयरधनीलाई कति लाभांश दिँदै हुनुहुन्छ ?
    सर्वसाधारणलाई सेयर निष्कासन गरेको ६ महिनाजति भयो । हामीले व्यवसाय विस्तार र सेयरधनीलाई सन्तुलन गरेर लैजानुपर्छ । सार्वजनिक संस्था भएकाले लाभांशका लागि सोच्नुपर्छ भन्ने हाम्रो मान्यता पनि हो । हामीले अहिले नै यति लाभांश दिने भनेर तयारी गरेका छैनौं । अहिले नै भन्यो भने धेरै चाँडो हुन्छ । कम्पनीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने सोच बनाउँदैछौं ।
    यो वर्ष कस्ता योजनाहरू बनाउनुभएको छ ? 
    एक वर्षको अवधिमा ऋण व्यवस्थापन गर्ने, लगानी बढाउने हो । विभिन्न संस्थागत लगानीकर्तालाई पनि आह्वान गर्नेछौं । हाम्रो पनि लगानी गर्ने प्रक्रिया र पद्धतिहरू छन्, त्यसको पनि पालना गर्नुपर्छ । अन्य संस्थागत लगानीकर्ताले पनि लगानी गरेको खण्डमा रायसुझाव दिने गरी परामर्श सेवा प्रदान गर्ने तयारी भइरहेको छ । हाम्रो सोच पनि लगानी गरेका आयोजनामा आर्थिक एवं प्राविधिक ज्ञान पनि हुनुपर्छ । जलविद्युत्मा विभिन्न जोखिम भएकाले यसलाई व्यवस्थापन गरेर मात्र लगानी गर्नुपर्छ । शुद्ध वित्तीय संस्थाको रूपमा काम गरेको अवस्था र एक दर्जन आयोजनामा पनि लगानी गरिसकेकाले प्राविधिक पक्षको नेतृत्व पनि हामीले लिने गरी काम अघि बढाइरहेका छौं । लगानीपछिको दोस्रो महत्वपूर्ण काम भनेको जलविद्युत् आयोजनालाई प्राविधिक सेवा दिने हो । सरकारले पनि आगामी दशकलाई विद्युत् विकास दशक भनेर आयोजना पहिचान र लक्ष्य लिइसकेको अवस्थामा एउटा ४ सय मेगावाट क्षमतासम्मको आयोजनामा वित्तीय व्यवस्थापनका लागि नेतृत्व लिने तयारी भइरहेको छ । यो हिसाबले काम अघि बढाएका छौं ।
    हामीले स्वपुँजीको लगानी गरिरहेकाले तत्कालका लागि थप पुँजीको आवश्यकता छैन । वित्तीय स्रोत कसरी परिचालन गर्ने भन्नेमा आन्तरिक गृहकार्य गरिरहेका छौं । पहिलो सोच भनेको स्वदेशी स्रोत परिचालन नै हो ।
    कम्पनीसँग भएको ११ अर्ब रुपैयाँ पुँजीले अब पुग्दैन । थप लगानी जुटाउन कम्पनीले कस्ता वित्तीय औजारको प्रयोग गर्दैछ ? 
    जलविद्युत्मा लगानी बढ्दै गएकाले आगामी ५ वर्षमा हामी यसलाई ५० अर्बको कम्पनी बनाउँदैछौं । सामान्य वित्तीय औजार प्रयोग गरेर लगानी जुटाइँदैछ भने दीर्घकालका लागि बण्डलगायत अन्य वित्तीय औजारको माध्यमबाट ठूलो लगानी जुटाउँदैछौं । त्यस्तै, इक्विटी फण्डको पनि कुरा भइरहेको छ भने अन्तर्राष्ट्रिय स्रोत परिचालनको सोच बनेको छ । एक÷डेढ महिनामा यो औजार प्रायोग गरेर लगानी जुटाउने बारे भन्न सक्छौं । विभिन्न वित्तीय औजारहरू छन्, तिनीहरुलाई प्रयोग गरेर लगानी जुटाउने हो । आयोजनाको प्रकृतिअनुसार विशेष औजार प्रयोगबाट पनि लगानी जुटाउने सम्भावना देखिएको छ । यसतर्पm पनि ध्यान दिँदैछौं । ऊर्जाको संकट भोगिरहेका बेला काम भइरहे पनि सकारात्मक परिणाम पाउन सकेका छैनौं । यसको परिणाम आगामी ३ वर्षमा देखिन थाल्नेछ । ५० मेगावाटसम्मको आयोजनालाई विदेशी लगानी आवश्यक छैन । यो आकारको आयोजनालाई लगानी जुटाउन नेपालको निजी क्षेत्र सक्षम भइसकेको छ भने बैंैक तथा वित्तीय संस्था पनि सक्षम देखिएका छन् । पछिल्ला ३ वर्षमा एचआईडीसीएलले २५ वटा आयोजनाको वास्तविक अवस्था अध्ययन गरिएको छ । यीमध्ये केही आयोजनामा हामीले लगानी गरेका छौं । यी सबै आयोजना अघि बढेका छन् । यी नेपाली स्रोतसाधन परिचालनबाट बनाउन सकिन्छ । अर्को ५ सय मेगावाटको आयोजना पनि आफ्नै स्रोत परिचालन गर्नका लागि तयारी भइरहेको छ । यदि आयोजनामा लगानी जुटाउन सरकारले नेतृत्व दिन्छ भने विभिन्न वित्तीय औजार प्रयोग गरेर आन्तरिक स्रोतबाट आयोजना बनाउन सक्छौं । यो ताकत हामीसँग पनि छ ।
    सानो लगानीमात्र गरिरहेका बेला अर्बौं रुपैयाँ लगानी कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ ?
    ठूलो लगानी गर्न मलाई आयोजना देखाइदिनुस् न ! कुन आयोजना तत्काल अघि बढ्ने अवस्थामा छ ? हामीसँग अर्बौं रुपैयाँ लगानी गर्ने आयोजना नै छैनन् । हामीले सबैभन्दा सानो १५ मेगावाटको आयोजनामा सहवित्तीयकरणमा लगानी गरेका छौं भने सबैभन्दा ठूलो आयोजना भनेको ८६ मेगावाटको सोलु दूधकोसी हो । ८२ मेगावाटको तल्लो सोलु आयोजनामा पनि लगानी सम्झौता सम्पन्न गरेका छौं । अन्य आयोजना ५० मेगावाटभन्दा साना नै छन् । हामीसँग आयोजना नै छैन वास्तवमा । आयोजना आए हामी लगानी गर्न उत्सुक नै छौं किनभने हामी व्यापार गर्न बसेका हाैं ।
    हालसम्म कम्पनीले कति लगानी गरेको छ ?
    कम्पनीले ४३७ मेगावाट क्षमताका आयोजनामा सहवित्तीयकरणअन्तर्गत लगानी सम्झौता गरिसकेको छ । ३७.६ मेगावाटको काबेली ए समेत जोड्दा ४७४ मेगावाट हुन आउँछ । काबेलीलाई पनि लगानी जुटिसकेको छ । आफ्नो स्रोतबाट यी आयोजनामा ५ अर्ब २ करोड रुपैयाँ लगानी भइसकेको छ । रेमिट हाइड्रोमा साढे २५ करोड रुपैयाँ सेयर लगानी गरिसकेका छौं । पीटीसीएनमा पनि सेयर लगानी नै छ ।
    आयोजनालाई लगानी जुटाउन एसियाली विकास बैंकबाट ५ करोड डलर सहुलियत कर्जा लिने प्रक्रिया कहाँ पुग्यो ?
    यसको प्रक्रिया अघि बढिसकेको छ । छिट्टै सम्झौता हुने तयारीमा छ ।
    एडीबीबाट ऋण लिने प्रक्रिया सुरु भएको लामो समय भइसकेको छ । आयोजना नै नभएर ढिलो भएको हो ? 
    भूकम्प र नाकाबन्दीले गर्दा आयोजनामा भएको लगानी जान सकेन । त्यसैले स्वाभाविक रूपमा केही ढिलो हुन गएको हो ।
    ५ अर्ब २ करोड ऋण सम्झौतामध्ये हालसम्म कति लगानी भएको छ ?
    हालसम्म १५ करोड लगानी भएको छ । यो वर्ष ७० करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य लिएका छौं । ऋण सम्झौता हुनासाथ आयोजनामा लगानी हुँदैन । यो र आगामी वर्ष सबै लगानी हुने सम्भावना देखिएको छ ।
    रेमिट हाइड्रोको अवस्था के छ ?
    कम्पनी स्थापना भएको २ वर्ष भइसकेको छ । सरकारले हालै १२५ मेगावाट क्षमताका २ आयोजनाबाट विद्युत् उत्पादन गर्नका लागि भनेर सर्वेक्षण अनुमतिपत्र दिएको छ । आयोजनालाई द्रुतगतिमा अघि बढाउँछौं । आन्तरिक स्रोतबाट बनाउनका लागि संस्थागत लगानीकर्तासँग कुरा गरिरहेका छौं । लगानीकर्ता सकारात्मक भएको पाएको छु । वैदेशिक रोजगारीमा जानेले पनि लगानी गर्न चासो देखाएको पाइएको छ । हामी सम्भाव्यता अध्ययन गरेर विस्तृत इन्जिनियरिङको काम र वित्तीय व्यवस्थापनको काम एकसाथ अघि बढाउँदैछौं । लगानी सम्झौता तत्काल नभए पनि एमओयूसम्म गर्ने तयारीमा हामी छौं । स्वतन्त्र कम्पनी भएकाले रेमिटमा जनशक्ति व्यवस्थापन गर्नेछौं । धुन्सा र सिम्बुआ आयोजना चाँडै अघि बढाउनेछौं ।
    तस्बिर ः रोजित खड्का 
    स्रोत : १२ खरी